चौध मालपोत कार्यालयमा अनलाइन सेवा, अन्य जिल्लामा पनि विस्तार गरिने



काठमाडौँ। एसियाली विकास बैंक (एडिबी)को सहयोगमा १४ मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार गरिएको छ ।

उक्त बैंकले सो सेवाका लागि आवश्यक सफ्टवेयर निर्माणका लागि विसं २०७० तिर करिब १३ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।  भूमिसुधार तथा व्यवस्था मन्त्रालयका अनुसार काठमाडौँका कलङ्की, डिल्लीबजार र चाबहिल तथा ललितपुर,भक्तपुर,धादिङ काभ्रेपलाञ्चोक, चितवन,मकवानपुर,मोरङ,पर्सा,कास्की,बाग्लुङ र बाँकेमा अनलाइन सेवा उपलब्ध गराइएको छ ।

सो मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले सबै नागरिकको भरपर्दो सम्पत्तिका रुपमा रहेको घरजग्गाको व्यवस्थित सुरक्षाका लागि आगामी दिनमा अन्य जिल्लामा पनि सो सेवा विस्तार गरिने प्रतिबद्धता व्यक्त गरे । उनले सङ्घीयतामा पनि घरजग्गाको कारोबारलाई केन्द्रले नै नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको जानकारी दिँदै नेपालमा पनि सोही नियमलाई प्रभावकारी रुपमा लागू गरिने विश्वास व्यक्त गरे।

सर्वसाधारणको घरजग्गा किनबेचमा मालपोतका कर्मचारीको मिलेमतो तथा संलग्नता भएको समाचार आइरहेका अवस्थामा सो सेवा प्रभावकारी हुने विश्वास गरिएको छ । भूमिसुधार तथा व्यवस्थापन विभागका महानिर्देशक टीकाराम घिमिरेले सो व्यवस्थालाई अवलम्बन गरिएमा सरोकार पक्षलाई सहज हुने, गुणस्तरीय सेवा प्रदान गर्न सकिने र कारोबार पारदर्शी हुने बताए ।

सम्बन्धित व्यक्तिको तस्बिर,औँठाछाप र दस्तखतको अभिलेख अनलाइनमा रहने हुँदा कसैले पनि बदमासी गर्न पाउँदैनन् । नागरिक अनलाइन सेवाको पहुँचमा वृद्धि गर्नका लागि जनचेतना तथा प्रचारका कार्य गर्नुपर्ने देखिन्छ । नापी विभाग महानिर्देशक गणेशप्रसाद भट्टले सर्वसाधारणले सो सेवामार्फत आफ्नो निवेदनको स्थिति र जग्गाको विवरण हेर्न सकिने जानकारी दिए।

एडिबीले हाल आयोजनाको क्षेत्रभित्र पर्ने १४ मालपोत कार्यालयमा सेवाग्राहीको भिड घटेपछि सरकारको नियमित बजेटबाट चनौली, खैरहनी, माडी, लेखनाथ र शिखरकोटमा समेत सो सेवा कार्यान्वयनमा ल्याइएको बताएको छ।

मन्त्रालयका सूचना प्रविधि निर्देशक रामदत्त भट्टका अनुसार यसबाट रजिस्ट्रेसन दस्तुर र  पुँजीगत लाभकर सङ्कलनमा पारदर्शी भई राजस्व वृद्धिमा समेत टेवा पुग्नेछ।


क्लिकमान्डु