एमालेको घोषणापत्रः वृद्धभत्ता मासिक ५ हजार पुर्याउने



काठमाडौं । नेकपा एमालेले वृद्धभत्ता बढाएर मासिक ५ हजार रुपैयाँ पुर्याउने चुनावी घोषणापत्र तयार पारेको छ ।

आइतबार दिउसो ३ बजे सार्वजानिक हुने स्थानीय तहको चुनावका लागि तयार पारिएको घोषणापत्रमा एमालेले वृद्धभत्तालाई झन्डै तेब्बर बनाउने उल्लेख गरेको छ ।

०५१ सालमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीबो बजेटबाट नेपालमा पहिलोपटक वृद्धवृद्धालाई भत्ता दिन सुरु गरिएको थियो । अहिलेसम्म एमालेले वृद्धभत्ताको नीतिलाई ‘ब्राण्डिङ’ गरिरहेको छ ।

त्यसबेला नेपाली कांग्रेसले वृद्ध भत्ताको विरोध गरेपछि पछिल्ला वर्षहरुमा कांग्रेसले पनि यो भत्ता बढाएको छ । केहीदिन अघि कांग्रेसले सार्वजानिक गरेको घोषणापत्रमा वृद्धभन्दा दोब्बर बनाउने घोषणा गरिसकेको छ ।

कांग्रेसको घोषणापत्रलाई टक्कर दिँदै एमालेले वृद्धभत्ता झन्डै तेब्बर बनाउने घोषणा गरेको हो ।
त्यसैगरी, एमाले उच्च स्रोतका अनुसार वार्षिक ५ लाख युवाहरुलाई रोजगारी दिने, लगानी आकर्षण गर्ने, दोहोरो अंकको आर्थिक वृद्धदर हासिल गर्ने लगायतका महत्वकांक्षी लक्ष्य समेटेको छ ।

त्यस्तै, ५ वर्षमा प्रतिव्यक्ति ५ हजार डलर बनाउने बनाउने जस्ता अति महत्वकांक्षी लक्ष्य घोषणापत्रमा राखेको छ । अहिले नेपालीको प्रतिव्यक्ति आय ७ सय ७६ डलर छ ।


पुष्प दुलाल