नेचामा पहिलोपटक शुरु भयो ल्यान्डलाइन फोन सेवा



सोलुखुम्बु । आजदेखि सोलुखुम्बुको नेचामा ल्यान्डलाइन टेलिफोन सेवा सुरु भएको छ ।

सो सेवाको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले टेलिफोन गरेर आज शुभारम्भ गरेका हुन् ।

सो अवसरमा उनले देशका सबै स्थानीय तहमा टेलिफोन र इन्टरनेट सेवा पुग्ने विश्वास व्यक्त गरे ।

नेचामा नेपाल टेलिकमको ल्यान्डलाइन फोन सेवा सुरु भएपछि त्यहाँबाट पहिलो कलस्वरुप सञ्चारमन्त्री कार्कीलाई फोन सम्पर्क गरिएको थियो र सो सेवा विस्तारमा सहयोग गरेकामा उनलाई धन्यबाद दिइएको थियो ।

कुल २९४ लाइन क्षमता भएको सो सेवा पहिलो चरणमा ९० जनालाई वितरण गरिने नेपाल टेलिकम सल्लेरीले जनाएको छ । आज पहिलो पटक नेपाल टेलिकमको नेचा कार्यालय र इलाका प्रहरी कार्यालयमा फोन सेवा जडान गरिएको र बिहीबारदेखि ग्राहकलाई वितरण गरिने जनाइएको छ ।

ल्यान्डलाइन टेलिफोनसँगै एडिएसएल इन्टरनेट सेवासमेत सुरु भएकाले त्यस क्षेत्रका बासिन्दाले सञ्चारको उपयोगमा फड्को मारेको स्थानीयवासी लोकेन्द्र राउतले जानकारी दिए ।


क्लिकमान्डु