नेपाली काँग्रेसको फेसबुक पेज ‘भेरिफाइड’, चुनावी अभियानमै ५ लाख लाइक पुर्‍याउने लक्ष्य



काठमाडौं । नेपालमा पहिलो पटक कुनैपनि राजनीतिक दलको फेसबुक पेजले फेसबुकबाटै आधिकारिकता प्राप्त गरेको छ । नेपालमा अहिलेसम्म विभिन्न व्यक्तिगत पेज तथा कम्पनीहरुको पेज मात्र भेरिफाइड भएकोमा हालै राजनीतिक दलको हैसियतमा नेपाली काँग्रेसको फेसबुक पेज ‘भेरिफाइड’ भएको हो ।

काँग्रेसको आधिकारीक धारणा पाउने कुरामा भइरहेको अन्यौल हटाउन काँग्रेसले आफ्नो फेसबुक पेजलाई भेरिफाइड गराएको हो ।

नेपालका केहि राजनीतिक व्यक्ति र केहि सेलिब्रेटीहरुको मात्र फेसबुक पेज भेरिफाइड भएकोमा राजनैतिक दलको हैसियतमा काँग्रेसको पेज नेपालमै पहिलोपटक भेरिफाइड भएको हो । भेरिफाइड भएको पेजमा निलो ब्याकग्राउण्डमा सेतो र‌ंगको ठिक (Tick Mark) को चिन्ह लगाइएको हुन्छ ।

यो समाचार तयार पार्दासम्म २३ हजार ५३ जनाले काँग्रेसको पेज लाइक गरेका छन् ।

स्थानिय तहको चुनावी अभियानकै क्रममा ५ लाखसम्म लाइक पुर्‍याउने लक्ष्य राखेको प्रचार प्रसार उपसमिति सहसंयोजक तथा काँग्रेस नेता गगन थापाले बताए । यसलाई आगामी दिनमा पार्टी सहभागि हुने चुनाव तथा जनतासँग प्रत्यक्ष रुपमा जोड्ने पार्टीका गतिविधीहरुलाई शेयर गर्ने साधनको रुपमा प्रयोग गर्ने उनले जानकारी दिए। काँग्रेसलाई जनताको बीचमा अन्तरक्रिया गर्न पनि यसले सहज हुने प्रचार उपसमितिको विश्वास छ ।

यसैबिच नेपाली काँग्रेसले आइतवारबाट औपचारिक रुपमा प्रचार प्रसार शुरु गरेको छ । नेपाली काँग्रेसले आफ्नो आधिकारीक फेसबुक पेजबाट आइतवारदेखि आफ्नो पहिलो प्रचार सामग्री औपचारिक रुपमा सार्वजनिक गरेको हो ।

नेपाली काँग्रेसको फेसबुक र ट्वीटरमार्फत सार्वजनिक गरेको यो सन्देश आम कार्यकर्ताको माझ पुर्‍याउने तयारी काँग्रेस प्रचार उपसमितिले गरेको छ । काँग्रेसको झण्डामा रहेको चारतारालाई सबैभन्दा माथि राखेर बनाइएको सामग्रीमा लेखिएको छ, ‘हामीभित्र म’, ‘सबै अट्ने देश सबैलाई जोड्ने काँग्रेस’।

प्रचार प्रसार उपसमितिले तयार गरेको नयाँ प्रचार सन्देश पार्टी सभापति शेर बहादुर देउवादेखि पार्टीका सबै नेता कार्यकर्ताले आफ्नो सामाजिक सञ्जालमा राख्ने गरि तयारी गरिएको उपसमितिका सहसंयोजक तथा काँग्रेस नेता थापाले जानकारी दिए ।


क्लिकमान्डु