निर्वाचन आचार संहिताले रोक्यो दूरसंचार प्राधिकरणमा नयाँ सदस्य नियुक्ति




काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको नयाँ संचालक सदस्य नियुक्ति प्रकृयामा ढिलाई हुने भएको छ । सूचना तथा संचार मन्त्रालयले प्राधिकरणमा नयाँ सदस्य नियुक्त गर्नका लागि प्रकृया अगाडि बढाउँदै चैत महिनामा नै आवेदकहरुको अन्तरवार्ता र व्यवसायिक योजनाको जानकारी लिएकोमा अझै नियुक्ति हुन सकेको छैन ।

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिताले गर्दा प्राधिकरणका नयाँ सदस्यहरुको नियुक्त हुन नसकेको हो । मन्त्रालय स्रोतले निर्वाचन आयोगले आचार संहिता लागू भएपछि कुनैपनि नियुक्तिमा सहमति लिनुपर्ने भनेको हुँदा नयाँ नियुक्त नभएको जानकारी दियो ।

‘हामी सहमति लिने प्रकृयामा छौं, शुक्रबार नै सहमतिका लागि आयोगलाई पत्र पठाउँदैछौं,’ मन्त्रालय स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

स्रोतकाअनुसार आयोगले निर्वाचन आचारसंहिता लागू हुनुभन्दा पहिले नै शुरु भएको कामको लागि सहमति दिने गरेपनि प्राधिकरणका नयाँ सदस्यहरुको नियुक्तिमा भने सम्पूर्ण जानकारी माग गरेको छ ।

‘नियुक्त प्रकृयाको बारेमा हालसम्मको सबै जानकारी पठाउँदैछौं, संभवत आयोगले सहमति दिन सक्छ,’ स्रोतले भन्यो ।

यसअघि नै मन्त्रालयले २ नयाँ सदस्यहरुको लागि उम्मेदवारको सूची प्रकाशन गर्दै अन्तरवार्ता र व्यवसायिक कार्ययोजनाको बारेमा अध्ययन गरेको थियो । तर मन्त्रालयले अझै यो विषयमा निर्णय गर्न सकेको छैन । स्रोतकाअनुसार उम्मेदवारहरुबाट सर्टलिस्ट गर्न अझै सकिएको छैन ।

आयोगको सहमतिपछि मात्रै मन्त्रालयले नयाँ सदस्य नियुक्तिका लागि मन्त्रिपरिषदमा पेश गर्नेछ ।

यसअघि मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार उम्मेदवारहरुले सम्बन्धित क्षेत्रमा ७ वर्ष अनुभव हासिल गरेको स्पष्ट विबरण तथा शैक्षिक योग्यता र अनुभव पुष्टि हुने कागजात लिई अन्तरवार्ता र व्यवसायिक कार्ययोजनाका साथ उपस्थित हुनुपर्ने उल्लेख गरेको थियो ।

सो उम्मेदवारको सूचीमा १२ जना प्राविधिक तर्फ र ७ जना लेखा तथा लेखापरीक्षण समूहतर्फ उम्मेदवारी परेको थियो ।


क्लिकमान्डु