पाकिस्तानको उच्च अदालतद्धारा प्रधानमन्त्री नवाज शरिफको भ्रष्टाचार आरोपबारे छानबिन गर्न निर्देशन



इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफमाथि लागेको भ्रष्टाचार आरोपबारे छानबिन हुनुपर्ने बताउँदै, तत्काल भने सत्ताबाट हटाउनुपर्ने प्रशस्त आधार नदेखिएको पाकिस्तानको उच्च अदालतले बिहीबार निर्णय सुनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शरिफ र उनको परिवारका सदस्यमाथि लागेको भ्रष्टाचार आरोपसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ । सन् २०१६ मा पानामा पेपर्समा आएको सूचनामा शरिफका परिवारको विभिन्न विदेशी कम्पनीहरुमा संलग्नता रहेको भनी सार्वजनिक भएपछि पाकिस्तानमा यो मुद्दाले विशेष ध्यानाकर्षण गराएको छ ।

यहाँको सर्वोच्च अदालतले प्रधानमन्त्रीमाथिको मुद्दामा बाँझिएको राय दिँदै उनलाई सत्ताबाट हटाउनुपर्ने प्रशस्त आधार नभेटिएको तर आरोपबारे छानबिन गर्न आदेश दिएको हो ।

प्रधानमन्त्रीको भ्रष्टाचार आरोपमा गहिरो अनुसन्धान आवश्यक हुने देखिएको, न्यायाधीश असिद सैयद खोसाले बताए । सुनुवाईमा खटिएका पाँच न्यायाधीशमध्ये दुई न्यायाधीशले प्रधानमन्त्री शरिफलाई बेइमान बताउँदै उनी प्रधानमन्त्री रहने नैतिक आधार गुमाएको बताएका थिए । तर उनीहरु बेन्चमा अल्पमतमा परेका थिए ।


क्लिकमान्डु