सुरक्षाको पूर्ण प्रत्याभूति हुनेछ, ढुक्क भएर काम गर्नुस्– प्रमुख निर्वाचन आयुक्त यादव




काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उच्च मनोबल लिएर निर्वाचनको जिम्मेवारी पूरा गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन् ।

निर्वाचन आयोग परिसरमा निर्वाचन अधिकृतका लागि सञ्चालन गरिएको निर्वाचन व्यवस्थापन र सञ्चालन प्रशिक्षणमा निर्वाचनमा खटिने सहभागीलाई आज उनले सो निर्देशन दिएका हुन् ।

पूर्ण विश्वासका साथ उच्च आत्मबल बनाएर स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको जिम्मेवारी पूरा गर्न यादवले निर्देशन दिए ।
‘निर्वाचनको वातावरण अनुकूल बन्दै गएको छ, कहीँ कतै समस्या देखियो भने खबर गर्नुस् आयोगको तत्कालै त्यहाँ उपस्थिति हुनेछ, सुरक्षाको पूर्ण प्रत्याभूति भएको हुँदा ढुक्क भएर काम गर्नुस्’, प्रमुख निर्वाच आयुक्त यादवले भने,’संविधान कार्यान्वयन र लोकतन्त्रको स्थायित्वको सन्दर्भमा आधारशीलाको रुपमा रहेको २०७४ वैशाख ३१ गते आइतबार हुने ७४४ स्थानीय तहको निर्वाचन नयाँ खाले जिम्मेवारी भएकाले त्यो गर्न् भनेको राष्ट्रको लागि ठूलो योगदान हो’

आयोगका सचिव गोपीनाथ मैनालीले लोकतन्त्रलाई संस्थागत र स्थानीय तहलाई बलियो बनाउन हुन लागेको निर्वाचनको महाअभियानको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नु भनेको हाम्रा लागि ठूलो अवसर हो भन्ने ढङ्गबाट कर्तव्य पूरा गर्न आवश्यक रहेको बताए ।

आयोगका सहसचिव नवराज ढकालले सिँहदरबारको अधिकारलाई टोलटोलमा पुर्याउने उत्सवको रुपमा स्थानीय तहको निर्वाचन हुन लागेको बताए ।

विगतका तालिममा उपस्थित हुन नसकेका, जगेडामा रहेका तथा नयाँ नियुक्ति भएका निर्वाचन अधिकृतका लागि सञ्चालित उक्त एकदिने प्रशिक्षणमा २८ जना सहभागी रहेको आयोगले जनाएको छ ।

उक्त प्रशिक्षणमा निर्वाचन कानुन, नियमावली, निर्देशिका, निर्वाचन सञ्चालन गर्ने विधि र प्रक्रिया, मतगणनालगायतका विषयमा प्रशिक्षण दिइनेछ ।रासस


क्लिकमान्डु