सडकमा जतिधेरै खाल्डा, स्थानीयवासी उति धेरै खुशी




काठमाडौं । सोमबार बेलुका ५ बजेतिर करिब ४५ बर्षीय महिला मुखमा दुईटा मास्क लगाएर चाबहिल चोकमा साइकलवालासँग तरकारी किन्दै थिइन् । म साँखु जाने बसको पर्खाइमा थिए । उनले तरकारी पसलेसँग तरकारीको मुल्यमा बार्गेनिङ गरेको देखेर मलाई बोल्न मन लाग्यो ।

‘दिदी यस्तो धुलोमा बसेर बेच्दै छन्, उनलाई पनि दुःख छ…..।’

‘आज दुःख भएर के भो त, भोलि सुख आउँछ नि ।’ मेरो कुरा खस्न नपाउँदै उनले भनिन् ।

‘कसरी ?’ मैले फेरि प्रश्न गरें ।

‘अहिले धुलो खानपरे पनि भोलि पानी खान पाए भइहाल्यो नि ।’ मास्कले छोपिएको अनुहार पूरै नदेखिए पनि उनको निधारले हाँसेको अनुभुति हुन्थ्यो ।

‘यसरी पनि कहीँ विकासका योजना निर्माण गरिन्छन् र ?’ त्यसपछि मैले सोधें ।

‘होइन भाइ, हामी गरिब छौं, अत्याधुनिक साधन छैनन् होला, यी खाल्टा पुरिन समय लाग्ला । तर एकपटक दुःख भोगेपछि अबको पुस्ताले काठमाडौंमा पानीको हाहाकार त झेल्नु पर्दैन ।’ उनको उत्तर थियो ।

‘अहिले सडक नभत्किएका एरियाका जनता दुखी छन्, सडक नभत्केको क्षेत्रमा मेलम्चीको पानी पाइदैन भन्ने हल्ला छ ।’ उनले थपिन् ।

म हाँसें । उनी अगाडी बोल्दै गइन् । ‘यो भत्केको सडक चाँडो बन्छ । धेरै प्रतिक्षापछि हामीले मेलम्ची पाउने भयौं ।’

त्यती नै बेला मेरो बस आइपुग्यो । म उनीसँग बिदा भएर बस चढेर घर लागें ।

बसमा चढेपछि मेरो दिमागमा केही दिन अगाडी व्यवसायी सुरज बैद्यले भनेको कुरा याद आयो ।

‘यो पुरै नेपाली इन्जिनियर, ठेकेदार र श्रमिकले निर्माण गरेको हो । यहाँका मान्छे सक्षम छन् । अबको हाम्रो भबिष्य राम्रो छ । मेलम्ची आउने पक्का भएको छ, लोडसेडिङ अन्त्य भएको छ । बाहिर रोजगारीमा जानेको संख्या घट्दै छ । ठूला पूर्वाधारका योजना निर्माणले तिब्रता पाएको छ । राजनीतिक दलसँग अब विकास बाहेकको एजेण्डा हुन सक्दैन । अब केही समय धुलोको समस्याले सताउला । तर विकास रोकिदैन । अब आशगर्ने ठाँउ प्रशस्त छन् ।’ उनले आफ्नो नयाँ कर्पोरेट अफिस देखाउँदै भनेका थिए ।

मेरो दिमागमा अर्को प्रसंग याद आयो ।

‘ऊर्जा र खानेपानी जस्ता आयोजना निर्माणका क्रममा भएपनि त्यसको अनुभुति नागरिकले गर्न सक्दैनन् । उनस्हरुको घरमा बिजुली नबलेसम्म वा घरको धारामा पानी नझरेसम्म जनताले त्यसको अनुभुति गर्दैनन् । सडकमात्र त्यस्तो पूर्वाधार हो, १०० मिटरमात्र खनेपनि त्यहाँ सवारी साधन खुड्न थाल्छन् ।’ २०६८ सालमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसँगको भेटमा उनले भनेका थिए ।

हो, आज उपत्यकावासीहरु आफ्नो घर अगाडीको सडक चिरेर मेलम्चीको पानी आउने पाइप बिच्छ्याउदाँ निकै खुशी छन् । उनीहरु केही समय धुलो खान तयार छन् । अबको ६ महिनापछि हरेक दिन नुहाएर र सफा लुगा लगाएर हिड्ने मनोकांक्षा पालेर बसेका छन् । आयोजनाले यही बर्षको दशैमा काठमाडौंवासीलाई मेलम्चीको पानी उपहार दिने बताएको छ ।

मेलम्चीको पानीलाई सहज र समान रुपमा वितरण गर्नका लागि उपत्यका भित्र ९ वटा अन्डरग्राउण्ड पोखरी निर्माण गरिदैछ । मेलम्ची आयोजना सम्पन्न भएपछि काठमाडौं उपत्यकामा दैनिक रुपमा ६ करोड ५० लाख लिटर पानी आउँछ । सो पानी सञ्चित गर्नका लागि मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकाका विभिन्न ९ स्थानमा अन्डरग्राउण्ड पोखरी निर्माण गरिरहेको आयोजनाका प्रवक्ता लिलाप्रसाद ढकाल बताउँछन् ।

‘मेलम्चीको पानी सहज रुपमा जनताको घर दैलोमा पुर्याउनको लागि अन्डरग्राउड पानी सञ्चित भण्डार निर्माण गरिएको हो, ९ वटा भण्डारण केन्द्रमध्येमा ५ वटाको निर्माण भईसकेको छ र बाँकी ४ वटा पनि असार मसान्तसम्ममा निर्माण सम्पन्न हुने,’ ढकालको भनाइ छ ।

उपत्यकाको आरुबारीमा ८ हजार ५ सय घनमिटर क्षमताको अन्डर ग्राउन्ड रिर्जब वायर ट्याङ्की निर्माण भइरहेको छ भने महाँकालचौरमा ८ हजार घनमिटर क्षेमताको ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ ।

बाँसबारीमा ९ हजार ५ सय घनमिटर, महाराजगञ्जमा ७ हजार ५ सय घनमिटर, खुमलटारमा ९ हजार ५ सय घनमिटर,बालाजुमा ७ हजार घनमिटर क्षेमताका ट्याङ्की निर्माण भइसकेको छ । त्यसैगरी टिगनीमा ३ हजार घनमिटर, भक्तपुर कटुन्जेमा ६ हजार घनमिटर र किर्तिपुरमा ६ हजार घनमिटर क्षेमताका ट्याङ्की निर्माण भइरहेका छन् ।

कहाँ कहाँका बासिन्दाले पाउँछन् पानी ?
मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा ६ सय ७० किलोमिटर लामो पाइप सञ्जाल विस्तार गरिरहेको छ । त्यही सञ्जालको माध्यमबाट छाउनी, वाफल, स्वयम्भू, स्वयम्भू चामतीको पश्चिम, गोंगबु बसपार्क, म्हैपी, नयाँबजार, सामाखुसी, रानीबारी, लाजिम्पाट, पानीपोखरी, बालुवाटर, नारायणगोपाल चोक, निर्मल निवास, चिनियाँ र रुसी दूतावास, विशालनगर, टुडालदेवी, शंखपार्क, धुम्बाराही, हाँडीगाउँ, सुकेधारा र विशालनगर । लैनचौर, टंगाल, भगवतीबहाल, नक्साल, डिल्लीबजार, सिंहदरबार गेट, माइतीघर, थापाथली, बाग्मती नदी, टेकु, विष्णुमति नदी र न्यूरोड क्षेत्रमा मेलम्चीको पानी वितरण हुँदैछ ।

त्यसैगरी धोवीखोला, गौशाला, भिमसेनगोला, सिंहदरबार, पुतलीसडक, डिल्लीबजार, भाटभटेनी, हाँडीगाउा र रातोपुल, सेतोपुल, पुरानो बानेश्वर, तिलगंगा, सिनामंगल, तीनकुने, मदनभण्डारी पथ, नयाँबानेश्वर, बिजुलीबजार हुँदै धोवीखोला क्षेत्रमा पनि मेलम्चीको पानी आउँछ ।

अनामनगर ट्याङ्की, माइतीघर, धोवीखोला, बिजुलीबजार, प्रसुतिगृह मार्ग, थापाथली चोक हुँदै माइतिघर । कुपण्डोल, यूएनपार्क, शंखमूल, मनोहरा खोला, बालकुमारी, चक्रपथ, ग्वार्को, मंगलबजार, पुल्चोक, हिमालय होटेल, ज्वागल चोक हुँदै कुपण्डोल । पुल्चोक, मंगलबजार, ग्वार्को, सातदोबाटो, महालक्ष्मीस्थान एकान्तकुना र जावलाखेल क्षेत्रमा पनि मेलम्चीको पानी पाइने आयोजनाले जानकारी दिएको छ ।

बालाजुचोक, सोह्रखट्टे, लैनचौर, कान्तिपथ, न्यूरोड, हनुमानढोका, विष्णुमती पुल, इन्द्रायणी मन्दिर हुँदै बालाजु । टेकुदोभान, कुपण्डोल, कानदेवता, पुल्चोक, जावलाखेल, एकान्तकुना, भनिमण्डल, चक्रपथ, सानेपा पुल बाग्मती नदी हुँदै टेकु दोभान क्षेत्रमा पनि मेलम्चीको पानी पाइन्छ ।

त्यस्तै बाग्मती नदी, तीनकुने, कोटेश्वर, जडीबुटी पुल, मनोहरा खोला, शंखमुल । वनस्थली चोक, बालाजु चोक, विष्णुमती पुल, डल्लु, भगवानपाउ हुँदै वनस्थली । कलंकी, सोल्टीमोड, कालीमाटी, टेकुदोभान, बल्खु, चक्रपथ हुँदै कलंकी क्षेत्रमा पनि मेलम्चीको पानी आउँछ ।


क्लिकमान्डु