नाम उस्तै हुँदा एउटा कम्पनीको रिस अर्काको थाप्लोमा




काठमाडौं । तपाइले मानिसहरुको नाम एकै हुँदा विभिन्न समस्याहरु भोगेको त सुनेकै वा पढेकै हुनुपर्दछ । नाम एउटै हुँदा विभिन्न समस्या तथा फाईदाहरु हुनु स्वभाविक हो ।

ब्यवसायिक जगतमा पनि उस्तै नाम राख्ने चलन छ । चलेको ब्राण्डसँग मिल्दोजुल्दो नाम राखियो भने आफ्नो कम्पनी वा उत्पादनको ब्राण्डिङ गर्न सजिलो हुन्छ भन्नेहरु पनि नभएका होइनन् । तर मिल्दोजुल्दो नामले कुनै बेला अनाहकमा यति ठूलो समस्या ल्याउँछ भन्ने उदाहरण अहिले भारतको स्न्यापडीलले भोगिरहेको छ ।

भारतीय इकमर्श साइट स्न्यापडील र अमेरिकी कम्पनी स्न्यापच्याटको नाम उस्ताउस्तै हुँदा स्न्यापडीलले समस्या भोगेको हो ।

केही दिन अघि अमेरिकी टेक कम्पनी स्न्यापच्याटका प्रमुख कार्यकारी अधिकृत इभान स्पिगलले भारतलाई हेपेको समाचार भारतभर आगोसरी फैलियो । स्पिगलले भारतलाई गरीब देशको उपमा दिँदै आफ्नो व्यापार सो देशमा नबढाउने भनेको कुरा सोशल मिडियामा निकै चर्चाको विषय भईरहेको छ । उनले आफ्नो कर्मचारीसँगको मिटिंगमा यस्तो भनेको भन्दै मिडियामा आएपछि भारतभर यसको विरोध हुँदै आएको छ ।

यो कारणले भारतमा ‘बाइकट स्न्यापच्याट’ ह्यासट्याग ट्वीटरमा ट्रेण्ड गरिरहेको छ । यसले स्न्यापच्याट प्रयोगकर्ता भारतीयहरुले यसलाई अनस्टल गर्ने र विरोध गर्ने क्रम जारी छ । तर यसको मारमा भने भारतीय कम्पनी नै परेको छ ।

स्न्यापच्याटको विरोधको मारमा भारतीय ईकर्मश साइट स्न्यापडीलले विरोध भोगिरहेको छ । उसको एप अनस्टल गर्ने क्रम पनि बढेको छ । यसो हुनुमा अधिकांश भारतीयहरुले स्न्यापच्याट र स्न्यापडील कम्पनीबीचको फरक थाहा नपाउनु हो भने दुबै कम्पनी एकै हुन भन्ने भ्रम कायम रहनु हो । अधिकांश भारतीयलाई स्न्यापच्याटको भन्दा पनि स्न्यापडीलको प्रमुख कार्यकारी अधिकृतले यसो भनेको भन्ने भान पर्नुले हो । यसले गर्दा भारतीय ईकमर्श कम्पनी स्न्यापडीलले निकै सास्ती भोगिरहेको छ ।

यो समाचार बाहिर आउने बित्तिकै भारतीयहरुले आफ्नो स्मार्टफोनबाट स्न्यापडीललाई अनस्टल गर्न शुरु गरे । यति मात्र होईन, प्ले स्टोरमा स्न्याडीलको बारेमा कमेन्ट बक्समा नकारात्मक कमेन्टहरु राख्दै सोशल मिडियामा पनि शेयर गरिरहेका छन् ।

जसले गर्दा भारतीय अनलाइन कम्पनी स्न्यापडीललाई निकै समस्या परेको छ । नाम उस्तै हुँदाको परिणाम स्न्यापडीलले भोगिरहेको छ भने भारतीयहरुको बौद्धिक क्षमतामा पनि प्रश्न उठिरहेको छ ।

हालै आएको ताजा रिपोर्टअनुसार स्न्यापच्याटको रेटिंग पनि निकै घटेको छ । एप स्टोरमा यसअघि पाँच स्टारको लोकप्रियता हासिल गरेको स्न्यापच्याटको रेटिंग घटेर अहिले एक स्टारमा आएको छ । एजेन्सीको सहयोगमा


क्लिकमान्डु