एशियाली पूर्वाधार लगानी बैंकका अध्यक्षसँग सिएनआईको छलफल



काठमाडौ । अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा भाग लिन काठमाडौं आएका एशियाली पूर्वाधार लगानी बैंक अध्यक्ष जीन लिक्वुनले शुक्रवार नेपाल उद्योग परिसंघका पदाधिकारी र प्रवुद्ध परिषदका सदस्यहरुसँग भेटवार्ता गरेका छन् । भेटवार्ता नेपालको पूर्वाधार विकासमा एआईआईबीको सहयोग परिचालनका विषयमा केन्द्रित थियो ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले सन् २०३० सम्म मध्यम आय भएको विकासोन्मुख देशको सूचीमा स्तरोन्नती हुने नेपालको लक्ष्य भेट्न पूर्वाधारमा ठुलो लगानी आवश्यक रहेको बताउँदै त्यसका लागि सहयोग गर्न आग्रह गरे । ‘हामी एआईआईबीलाई केही यस्ता आयोजनामा लगानीका लागि अनुरोध गर्छौं, जसबाट नेपालको आर्थिक परिदृष्य नै परिवर्तन सम्भव छ,’ शर्माले भने, ‘ति आयोजना हुन निजगढको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व पश्चिम विद्युतीय रेलमार्ग र केही अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्र ।’

देशको आर्थिक सामाजिक रुपान्तरण गर्ने खालका ठुला र रणनीतिक महत्वमा पूर्वाधार आयोजना विकासका लागि नेतृत्वको दुरदृष्टि तथा प्रतिवद्धता र त्यसलाई कार्यान्वयनमा लैजान राजनीतिक स्थायित्व आवश्यक आवश्यक हुने लिक्वुनको भनाई थियो ।

‘लगानी सम्मेलनमा सबै प्रमुख दलका नेताहरुको अभिब्यक्तिले नेतृत्वको प्रतिवद्धता पुष्टी भएको छ र छिट्टै हुन गइरहेका निर्वाचनले स्थायित्व समेत प्रदान गर्नेमा म विश्वस्त छु ।’ उनले भने । त्यसैले अव नेपालको पूर्वाधार विकासले गति लिने र त्यसका लागि आवश्यक लगानी गर्न एआईआईबी प्रतिवद्ध रहेको उनले बताए ।

परिसंघको प्रवुद्ध परिषदका संयोजक डा. शम्भुराम सिम्खडाले नेपाल जस्ता अल्पविकसित देशको आर्थिक सामाजिक विकासका लागि अपरिहार्य पूर्वाधार विकासमा एआईआईबीले प्राथमिकताका साथ लगानी विस्तार गर्ने रणनीति लिनु पर्ने बताए ।


क्लिकमान्डु