अर्थमन्त्री महराले भने- सबैखाले लगानीलाई हाम्रो स्वागत छ



काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले सबै प्रकारको लगानीलाई नेपालमा स्वागत गरिने बताएका छन् ।

बिहीबार देखि राजधानीको सोल्टी होटलमा सुरु भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री महराले यस्तो बताएका हुन् ।

संविधानसभाले नयाँ संविधान बनाएपछि मुलुक आर्थिक विकासको चरणमा प्रवेस गरेको उनको भनाई छ ।

‘हामीले विभिन्न कानूनहरु समयाअनुकुल परिवर्तन गरेर सबैखाले लगानीलाई स्वागत गरेका छौं’ मन्त्री महराले भने ।
सरकारले प्रोजेक्ट बैंक बनाएको भन्दै लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न महराले आग्रह गरे । सरकारले उद्योगलाई २४ घन्टा बिजुली उपलब्ध गराउने उनले बताए ।

त्यसैगरी केही देशसँग दोहोरो कर उन्मूक्ति सम्झौता भएको मन्त्री महराले जानकारी दिए ।

सन् २०३० सम्ममा नेपाल मध्य आय भएको मुलुक बन्ने लक्ष्यअनुसार सरकारले काम गरिरहेको उनको भनाई थियो ।

‘नेपालमा बजारको ठूलो संभावना छ , विश्वकै ठूलो जनसंख्या भएका चीन र भारत हाम्रा दुई छिमेकी छन्, त्यो हाम्रो बजार हो,’ उनले भने ।

र, यो पनि पढ्नुहोस्-

उद्योगमन्त्रीको घोषणा- लगानीको वातावरण बन्यो, १० वर्षपछि कुनै नेपाली रोजगारी खोज्दै विदेश जानु पर्दैन


पुष्प दुलाल