छुर्पी उद्योगबाट मासिक एक लाख आम्दानी
तेह्रथुम । श्रम गरे आफ्नै गाउँठाउँमा बसेरै मनग्य कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, हमरजुङ– ७ का ४७ वर्षीय अमरकृष्ण बस्नेत ।
छवर्ष मलेसिया बस्दा उनले निकै दुःख पाउनुभयो । घर जग्गा धितो राखेर उहाँ विदेश पुग्नुभयो । ‘विदेश पुगेपछि गर्ने दुःख स्वदेशमै गरे त्यहाँ भन्दा राम्रो कमाइ गर्न सकिने रहेछ,” बस्नेतले भने । मलेसियाबाट फर्केपछि अहिले उहाँले गाउँमै दुग्ध परिकार उद्योग खोलेका छन् ।
सुरुमा चारजना साथीसँग मिलेर खोलेको सो उद्योग उहाँले एक वर्षदेखि आफ्नै एकलौटी बनाएर चलाइरहेका छन् । बस्नेतको दुग्ध परिकार उद्योगमा हाल छुर्पी, नौनी, र पनिर उत्पादन हुन्छ । उद्योगबाट मासिक करिब सात क्विन्टल छुर्पी, चार सय किलो नौनी उत्पादन हुने गरेको उहाँले बताए ।
“पनिर माग गरेअनुसार मात्रै बनाइन्छ । उत्पादित छुर्पी र नौनीका लागि बजारको कुनै समस्या छैन, घरैबाट बिक्री हुन्छ,” उहाँले भन्नुभयो । उत्पादित छुर्पी इटहरीहुँदै काठमाडौँ तथा अमेरिकातर्फ समेत निर्यात गरिन्छ । नौनी ऊर्लाबारी, विराटनगर, धरानलगायत सहरमा खपत हुन्छ ।
हाल बस्नेतले छुर्पी घरैबाट प्रतिकिलो ८ सय ५० र नौनी प्रतिकिलो पाँच सयमा बिक्री गरेका छन् । उद्योगबाट मासिक १० लाख सम्मको कारोबार हुने गरेको उनले बताए । सबै खर्च कटाएर उनले जानकारी दिए ।
सात लाख लगानी रहेको सो उद्योगमा दूध उमाल्ने, फटाउने, छान्ने, मेसिनमा पेल्ने, क्रिम काट्ने, आगोमा सुकाउने, काटेर टुक्रा पार्नेलगायतका काममा चार जनालाई रोजगारी समेत मिलेको छ । रासस