आठ महिनामा ३९ अर्ब ३६ करोडको इन्धन आयात



पर्सा। चालु आवको आठ महिनामा वीरगन्ज नाका भएर भारतबाट ३९ अर्ब ३६ करोड ७५ लाख १३ हजार रुपैयाँ बराबरको इन्धन नेपाल भित्रिएको छ ।

सिमावर्ती भारतीय सहर रक्सौल, बरौनी, हल्दिया, मथुरालगायत स्थानबाट सो इन्धन नेपाल आयात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए ।  रक्सौल र बरौनी तेल डिपोबाट नेपालका लागि छ लाख ५० हजार २११ किलोलिटर डिजेल, पेट्रोल  र मट्टितेल आयात गरिएको छ ।

यस्तै भारतको मथुरा, हल्दियालगायत स्थानबाट एक लाख १४ हजार एक सय १४ मेट्रिक टन खाना पकाउने (एलपिजी) ग्यास आयात भएको पोखरेलले बताए। भारतबाट इन्धन आयात गर्दा नौ अर्ब ११ करोड २४ लाख १९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

वीरगन्ज नाकाबाट चालु आवको फागुनमा मात्र छ अर्ब २६ करोड ८ लाख ३७ हजार रुपैयाँको ९४ हजार ९५५ किलोलिटर डिजेल, पेट्रोल, हवाई इन्धन, मट्टीतेल तथा १३ हजार ८९४ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएको भन्सार कार्यालयले जनाएको छ । फागुनमा भारतबाट २० हजार ८५ किलोलिटर पेट्रोल, ५९ हजार ८२५ किलोलिटर डिजेल, ७८९ किलोलिटर मट्टीतेल र १४ हजार २५६ किलोलिटर हवाई इन्धन वीरगन्ज नाकाबाट नेपाल भित्रिएको  छ । फागुनमा कार्यालयले रु एक अर्ब ३३ करोड एक लाख राजस्व सङ्कलन गरेको छ ।


क्लिकमान्डु