५ अर्बको ऋणपत्र मंगलवार



काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार (भोलि) ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । १३ वर्षे अवधि रहेको उक्त ऋणपत्रको नाम ‘विकास ऋणपत्र-२०८६’ रहेको छ ।

ऋणपत्र बैक तथा वित्तीय संस्था, गैरबैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले किन्न सक्नेछन् । त्यसका लागि मंगलबार दिउसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । उक्त समयमा अनलाइन बोलकबोल पनि गर्न सकिनेछ ।

मंगलबार बोलकबोल गरिएको ऋणपत्र बुधबार निष्काशन गर्ने राष्ट्र बैंकले जनाएको छ ।

ऋणपत्रमा गरिएको लगानीको सावाँ सरकारले ०८६ सालमा मात्रै फिर्ता गर्ने छ । तर, प्रत्येक ६/६ महिनामा व्याज भुक्तानी गर्ने राष्ट्र बैंकले जनाएको छ । बोलकबोल अनुसार व्याजदर निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ ।

कम्तीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म मात्रै बोलकबोल गर्न पाइने छ ।

सरकार जमानत बसेको हुनाले ऋणपत्रमा गरिएको लगानी पूर्णरुपमा सुरक्षित हुन्छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८० र २० प्रतिशत अर्थात ४०० रुपैयाँ करोड र १०० करोड रुपैयाँ छुट्याइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने छ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने छ । र, सो रकमसम्ममा कायम भएको ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो ब्याजदर र सो ब्याजदरभन्दा मुनीका सबै बोलवालाहरुलाई ऋणपत्र उपलब्ध गराईने छ ।


पुष्प दुलाल