सेजसम्बन्धी नियमावली तयार गर्न निर्देशन



काठमाडौं । व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिले औद्योगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐनअन्तर्गत हुनुपर्ने नियमावली चाँडो तयार गरी कार्यान्वयन गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले विशेष आर्थिक क्षेत्र ऐन(सेज) अन्तर्गत स्थापना भइसकेका भैरहवा विशेष आर्थिक क्षेत्र र स्थापनाका क्रममा रहेका अन्य क्षेत्रमा विद्युत् उपलब्ध गराउने कार्यमा ऊर्जा र उद्योग मन्त्रालयलाई समन्वय गरेर अगाडि बढ्न बैठकले निर्देशन दिएको समितिका सभापति भीष्मराज आङ्देम्बेले जानकारी दिए ।

बैठकले उद्योगी व्यवसायीलाई प्रदान गरिने सेवा सुविधालाई एकल बिन्दुमार्फत उपलब्ध गराउने ऐनको प्रावधानअनुसार नियमावली बनाउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ । सभापति आङ्देम्बेले उद्योगलाई प्रदान गरिने कर छुटका विषयलाई पनि नियमावलीमा स्पष्ट पार्न भनिएको जानकारी दिए । बैठकमा सहभागी संसद्ले ऐनअनुसार नियमावली तयार गर्न माग गरे ।

बैठकमा सहभागी उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले व्यवस्थापिका–संसद्बाट पारित ऐनअनुसार चाँडो नियमावली तयारीको अन्तिम चरणमा पुगेको जानकारी दिए । उद्योग सचिव शङ्करप्रसाद कोइरालाले काठमाडौँमा सम्पन्न लगानी सम्मेलनले मुलुकमा अन्तर्राष्ट्रिय लगानीको वातावरण बनाएको जिकिर गर्दै सो क्रममा आएका प्रतिबद्धतालाई कार्यान्वयनमा लगिने बताए । सेजका कार्यकारी प्रमुख चण्डिका भट्टले तोकिएका स्थानमा सेज निर्माणका लागि जग्गा प्राप्तिमा समस्या देखिएकाले त्यसका लागि पहल गरिदिन समितिलाई आग्रह गरे । रासस


क्लिकमान्डु