शर्ट टर्म कारोबार बढ्दा सेयर बजारमा उछाल, तत्काल बुल रनको सम्भाबना कम



काठमाडौं । पुँजी बजारमा अल्पकालिन (शर्ट टर्म) कारोबार गर्ने प्रबृत्ति बढ्दा यो साताको सुरुदेखि नै नेप्से परिसुचक बढेको छ । साताको कारोबारको दोस्रो दिन सोमबार बीमा समुहले सेयर बजारमा अनपेक्षित उत्साह थप्दा समग्र बजारमा राम्रो प्रभाव परेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार सोमबार नेप्से परिसुचक ४२.१९ अंकले बढेर १४२४.३८ अंकमा पुगेको छ । आइतबार पनि नेप्से २४ अंकले बढेको थियो । तर, सोमबार लगानीकर्ता हौसिएका कारण परिसुचकमा दोहोरो अंकको बृद्धि र कारोबार रकममा उछाल आएको छ ।

आइतबारको ६८ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार १ अर्ब २६ करोड ८५ लाख रुपैंयाँको सेयर कारोबार भएको छ ।

यो साताको गतिबिधिले धेरै समय स्थिर रहेको नेप्से अब साँच्चै बढ्नै थालेको हो त भन्ने प्रश्न समेत खडा भएको छ । नेप्से बढ्नु वा घट्नुको मुख्य कारण आम लगानीकर्ताको मनोबिज्ञान नै भएका कारण आम लगानीकर्ता अहिले के सोच्दैछन् भन्ने कुराले धेरै अर्थ राख्छ ।

सरसर्ती हेर्दा लगानीकर्ताहरु नेप्से घट्ने जति घटिसक्यो, अब बढ्छ भन्ने अबस्थामा पुगेको देखिन्छ । अब घट्ने आधार नदेखेका कारण नै बिस्तारै लगानीकर्ता बजार प्रवेश गर्न थालेका हुन सक्ने अनुमान पनि गरिएको छ ।

बजार घट्नुको अर्को कारण तरलता अभावका कारण बढेको ब्याजदर पनि थियो । ब्याजदरको कारण बजार जति घट्नुपर्ने थियो त्यती घटिसक्यो भन्ने विश्लेषण पनि गरिएको छ । ब्याजदरको नकारात्मक असर पनि यो भन्दा बढि बजारमा पर्दैन भन्ने निश्कर्षमा आम लगानीकर्ता पुगेका हुन सक्छन् ।

केही महिना अघि अर्को त्रास भनेको घट्दै गरेको बजार र बैंकले ताकेता गर्ने मार्जिन कल पनि थियो । बजार निरन्तर घट्न रोकिएपछि यो समस्याबाट पनि लगानीकर्ताले केही राहत पाएका हुन सक्छन् ।

समग्रमा भन्दा पछिल्लो बजार बढाई एउटा ठूलो ‘बुल रन’ को सुरुवात हो भनेर भन्न चाहीँ अझै निकै चाँडो हुन्छ । तर, निरन्तर घटेको बजार केही थामिएपछि र अझै घट्दै जाने संभावना कम देखिएपछि लगानीकर्ताको हतास मानसिकतामा मनोबल भने पक्कै पनि बढेको हो ।

अबको राजनीतिक अवस्था, पूँजी बजारको पुर्वाधारमा सुधार, सूचीकृत कम्पनीहरुको बित्तीय अवस्था, समग्र आर्थिक सूचक र यी सबैले बिकास गर्दै लैजाने आम लगानीकर्ताको मनोबिज्ञानले नै आगामी दिनको नेप्सेको बाटो तय गर्ला ।

सोमबार १४० कम्पनीको २५ लाख २७ हजार ५ सय ३५ कित्ता सेयर कारोबार भएको छ । सोमबार उत्पादन बाहेक सबै उपसूचकहरु बढेका छन् । उत्पादन ५.१२ अंकले घटेको छ । तर, बैकिङ २९.१३, होटेल ७६.६२, बिकास बैंक ३९.३४, जलबिद्युत ४४.२१, बित्त १८.०२, बिमा ५६६.८३ र अन्य १.७३ अंकले बढेक छन् ।

बीमा क्षेत्रमा नयाँ खास केही हुन लागेको अवस्था नभएपनि लगानीकर्ताको बढी चासो बीमा क्षेत्रमा देखिएको छ । बीमा कम्पनीको चुक्ता पुँजी बृद्धिको सीमा नतोक्ने तर कम्पनीहरुले नगद लाभांश दिन नपाउने भन्ने हल्ला सोमबार दिनभर चलेको थियो । तर बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले योभन्दा करिब १ बर्ष अगाडि नै त्यस्तो ब्यवस्था गरिसकेको थियो ।

अहिले बीमा कम्पनीहरुको वित्तीय विवरण पास गर्ने कार्य भइरहेको समितिले जानकारी दिएको छ । समितिका तीन जना निर्देशकमध्ये २ जना अहिले बिदेशमा छन् । समितिका अध्यक्षले नयाँ नीतिगत ब्यवस्थाको लागि कुनै पहल गरेका छैनन् । यस्तो अबस्थामा बीमा कम्पनीको सेयर मूल्य निकै बढ्नु पर्ने कारण नदेखिएको समितिका अधिकारीहरु बताउँछन् ।

तर अल्पकालिन सेयर कारोबार गर्नेहरुले बीमाको सेयरलाई रोजाइको पहिलो सुचीमा राख्ने गरेका छन् । बीमाको सेयर आपूर्तिक कम भएको र सानो कारोबारले पनि उपसुचकमै प्रभाव पर्न सक्ने अवस्था भएकोले केही ‘स्पेकुलेटर’ले बीमाको सेयर प्रयोग गरेको हुन सक्ने केही विश्लेषकको भनाइ छ ।

बीमा क्षेत्रको उपसुचकमा उल्लेख्य सुधार आएपछि त्यसको सकारात्मक प्रभाव समग्र बजारमा परेको केही लगानीकर्ताको भनाइ छ ।

कारोबार रकमका हिसाबले सबैभन्दा बढि प्रभु बैंकको ११ करोड रुपैंयाँको कारोबार भएको छ । प्रभुलाई पछ्याउँदै नेशनल लाइफ इन्स्योरेन्सको ७ करोड ६१ लाख रुपैंयाँ, नेशनल हाइड्रोको ६ करोड ११ लाख रुपैंयाँ, नेपाल बंगलादेश बैंकको ४ करोड ९५ लाख रुपैंयाँ र शिखर ईस्योरेन्सको ४ करोड ९१ लाख रुपैंयाँको कारोबार भएको छ ।

सोमबार प्रिमियर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, समिट माइक्रोफाइनान्स, एभरेष्ट इन्स्योरेन्स , युनाइटेड इन्स्योरेन्स लगायत २४ कम्पनीको मुल्य ९ प्रतिशत भन्दा बढिले बढेको छ ।

सबैभन्दा बढि गुमाउनेमा माउन्ट मकालुका लगानीकर्ता छन् । उनीहरुले ८.२३ प्रतिशतले गुमाएका छन् । हिमालयन डिस्टिलरी र कालीका माइक्रोक्रेडिटका लगानीकर्ताले पनि क्रमशः ३.९२ र १.४८ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु