राष्ट्र बैंकले बैंकहरूलाई भन्योः ऋण नतिर्ने ऋणी र उसको परिवारप्रति सम्मान र सहानुभूति राख




काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर समयमै तिर्न नसक्ने ऋणी र उसको परिवारप्रति सम्मान र सहानुभूति राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

आइतबार सबै बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । ऋण दिने बैंक तथा वित्तीय संस्थाले प्रत्येक ऋणीले ठगी गर्ने नियतले नै कर्जा लिएको रकम नबुझाएको हो भन्ने मान्यता राख्न नहुने भन्दै यस्तो निर्देशन दिएको छ ।

‘प्रत्येक ऋणलीले ठगी गर्ने नियतवश नै कर्जा लिएको रकम नबुझाएको हो भन्ने मान्यता कर्जा प्रदायक संस्थाले राख्नु उपयुक्त नहुने हुनाले ऋणी र निजको परिवारप्रति सम्मान र सहानुभूति राखी न्यायोचित तबरले कर्जा असुल गर्ने प्रक्रिया थाल्न उपयुक्त हुने हुँदा सोको सुनिश्चितता हुने गरी ब्यवस्था मिलाउने,’ राष्ट्र बैंकले दिएको निर्देशनमा उल्लेख गरिएको छ ।

सर्बाेच्च अदालतले गत कात्तिक ८ गते गरेको फैसलाको आधारमा यस्तो निर्देशन दिएको हो ।

यस्तै कर्जा लिने क्रममा नै ऋणीको सम्पत्तिको सही मूल्यांकन हुने वातावरणको सुनिश्चितता पनि बैंक तथा वित्तीय संस्थाले मिलाउनु पर्नेछ । समयमै ऋण तिर्न नसकेर धितो लिलामी भएका ऋणीले आफ्नो धितोको प्रचलित बजार भाउ अनुसार मूल्यांकन गर्न गराउन पाइने भएको छ ।

यस्तै कर्जा लिने बेलामा गरिएको वाचा विपरित बारम्बार ब्याजदरमा बृद्धि नगर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यस्तै ऋण असुली प्रक्रिया सुरु भएपछि ऋणीको परिवारसँग सम्बन्धित अन्य सदस्यको सामाजिक प्रतिष्ठा, इज्जत, सम्मानमा प्रतिकूल प्रभाव नपर्ने गरी आवश्यक ब्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।


क्लिकमान्डु