स्टान्डर्ड चार्टर्ड बैंकको एफपिओमा एकैदिन ५० हजार आवेदन




काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले निष्काशन गरेको फरदर पब्लिक अफरिङ (एफपिओ) मा आवेदकहरुको ओइरो लागेको छ ।

एफपिओ निष्काशन भएको तेस्रो दिनसम्ममा ७२ हजार आवेदकले १० अर्ब ६ करोड रुपैयाँ बराबरको आवेदन दिएको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका सीइओ श्रीजेश घिमिरेले क्लिकमाण्डूलाई जानकारी दिए ।

पहिलो दिन १० हजार आवेदकले १ अर्ब ५ करोड रुपैयाँ बराबरको माग गर्दै आवेदन दिएका थिए । दोस्रो दिन १२ हजार आवेदकले १ अर्ब ७६ करोड रुपैयाँको माग आवेदन दिएका थिए ।

तेस्रो दिन अर्थात चैत ३ गते एकैदिन ५० हजार आवेदकले ६ अर्ब १९ करोड रुपैयाँ बराबरको माग आवेदन दिएका छन् ।
बैंकले चैत १ गतेदेखि चैत ४ गते अर्थात् आजसम्म २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपिओ निष्काशन गरेको हो।

बैंकले निष्काशन गरेको सो एफपिओ प्रतिकित्ता १२ सय ९० रुपैयाँ पर्छ । जसअनुसार बैंकले एफपिओमार्फत् सर्वसाधारणसँग ३ अर्ब ३३ करोड रुपैयाँ उठाउने छ ।


पुष्प दुलाल