बैंक र बीमा कम्पनीमा महिला संचालक अनिवार्य




काठमाडौ । बैंक तथा वित्तीय संस्थाको संचालक समितिमा महिला संचालक अनिवार्य रुपमा राख्नुपर्ने भएको छ ।

व्यवस्थापिका संसद्ले पारित गरेको कम्पनी ऐनको पहिलो संशोधन विधेयक, २०७३ महिलाको सेयर रहेको पब्लिक कम्पनीमा अनिवार्य संचालक समितिमा महिलालाई राख्नुपर्ने व्यवस्था गरेको छ । कम्पनी ऐनको संसोधनले बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनी र साधरण सेयर जारी गरेका कम्पनीमा महिला संचालकको प्रतिनिधित्व अनिवार्य हुन्छ । तर,पब्लिक कम्पनी भएपनि महिला सेयरधनी नभएका कम्पनीको हकमा यो व्यवस्था लागु हुने छैन ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले ‘उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको प्रतिवेदन सहितको कम्पनी ९पहिलो संशोधन विधेयक, २०७३ माथि छलफल गरियोस’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जोशीले विधेयकले दर्ता भए पनि सञ्चालन हुन नसकेका कम्पनीलाई खारेज गर्ने व्यवस्था गरेको बताए । अनलाइन उद्योग दर्ता र भुक्तानीको व्यवस्था विधेयकले गरेको जानकारी उनले दिए । ५ करोड करोडभन्दा बढी लगानी रहेका दूरसञ्चार कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण हुनुपर्ने व्यवस्था गरिएको छ ।

कम्पनी ऐनमा भएको संशोधनले लगानीको वातावरण हुने मन्त्री जोशीको धारणा थियो । प्रस्तावको छलफलमा भाग लिँदै प्रेम सुवालले राजनीतिक दर्शन र विचारअनुसार अर्थतन्त्र हुनुपर्ने बताउँदै बढ्दो निजीकरणलाई सबै जनताको हितमा उपयोग गर्न राज्यले हस्तक्षेपकारी नीति अपनाउनुपर्नेमा जोड दिए ।


क्लिकमान्डु