चौथो राष्ट्रिय लघुवित्त सम्मेलन चैतमा हुँदै, लघुवित्तका मुद्दा तथा अवसरहरुलाई सम्वोधन गरिने



काठमाडौं । ‘वित्तीय, सामाजिक र मानवीय मुल्यहरु वीच संतुलन’ को मूल नारासहित  चौथो ‘राष्ट्रिय लघुवित्त सम्मेलन २०७३’ आगामी चैत २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।

सम्मेलनमा नीति निर्माता, सेवाग्राही, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहयोगी निकाय, बैंकर र लघुवित्त बैंक/वित्तिय संस्था तथा वित्तीय मध्यस्थता गर्ने गैरसरकारी संस्था, वित्तिय सहकारी संस्था, साना किसान, कृषि सहकारी तथा विशेषज्ञहरु सहित करिव ८ सयको सहभागीता रहने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

लघुवित्तको वर्तमान स्थिति, दक्षिण एशियाली मुलुकको परिप्रेक्षमा नेपालको लघुवित्त क्षेत्रको समिक्षा, लघुवित्त संस्थाका चुनौती, लघुवित्त सेवाका क्षेत्रहरुमा आधुनिक प्रविधिको प्रयोग, सेवामा विविधता, उद्यमशिलता विकास, विमाको नविनतम अभ्यास, मूल्य श्रृंखला, वित्तीय साक्षरता, विपन्न वर्गमा लघुवित्तको पहुंच, गरिवी न्यूनीकरण, वित्तीय प्रभाबकारिता, संस्थागत विकास लगायतका महत्वपूर्ण विषयहरुमा कार्यपत्रहरु प्रस्तुत गरिने छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन तथा अनुभवहरु प्रस्तुत गर्ने र सो बारे ब्यापक छलफल गर्नको लागि ८ पूर्ण सत्र र २०  विभाजित सत्रहरु संचालन गर्ने योजना बनाइएको छ ।

यस सम्मेलनमा तेश्रोे राष्ट्रिय लघुवित्त सम्मेलन २०६९ फागुनको घोषणापत्रमा उल्लेखित प्रतिवद्धताहरुको कार्यान्वयनमा भएको प्रगति बारे गरिएको अनुगमनको समिक्षा गरिने आयोजक सेन्टर फर माइक्रोफाइनान्स नेपालले जनाएको छ ।


क्लिकमान्डु