१ सय २३ भूकम्पपीडितलाई २ % व्याजदरमा साढे २६ करोड ऋण




काठमाडौं । ०७२ बैशाख १२ गतेकाे शक्तिशाली भूकम्पपछि राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले घोषणा गरेका थिए,- ‘भूकम्पपीडितलाई घर बनाउन बैंकहरुले २ प्रतिशत व्याजदरमै ऋण दिन्छन्, जसले पीडिलाई राहत हुनेछ ।’

गभर्नरको यो घोषणाले भूकम्प पीडितलाई ठूलो राहतको महसुस गरायो पनि । तर, कतिपयले गभर्नरले ‘इमोसनल’ भएर यस्तो घोषणा गरेको भन्दै आलोचनासमेत गरे ।

राष्ट्र बैंकले व्यवस्था गरेको सहुलियत दरको ऋण अनुदान होइन । त्यसैले समान्य अवस्थामा ऋण लिन जे जस्ता कागजात चाहिन्छ, यो ऋण लिन पनि ती कागजात चाहिन्छ ।

बैंकरहरुले पनि गभर्नरको यो घोषणा कार्यान्वयन गर्न आनाकानी गरे । तर, गभर्नर नेपाल भूकम्प पीडितलाई सहुलियत व्याजदरमा ऋण दिएर राहतको महसुस गराउनु राज्यको दायित्व हो भन्नेमा दृढ रहे । र, राष्ट्र बैंकले त्यसको कार्यविधि नै बनायो ।

भूकम्प पीडितले २ प्रतिशत व्याजमै ऋण पाउँछन् भनेरे धेरैले पत्याएका थिएनन् । तर, ०७३ पुस मसान्तसम्म आइपुग्दा १ सय २३ जना भूकम्प पीडितले घर बनाउन २ प्रतिशत व्याजदरमै २६ करोड ५७ लाख रुपैयाँ ऋण लिइसकेको राष्ट्र बैंकले जनाएको छ ।

सुरुमा प्रभावकारी नदेखिएको गभर्नरको यो घोषणा विस्तारै प्रभावकारी बन्दै गएको छ । सुरुमा कार्यविधि बनाउँदा केही समय वितेको र बैंकबाट ऋण लिने प्रक्रिया पनि लामो भएकाले यो नीति प्रभावकारीरुपमा कार्यान्वयन हुन केही समय लागेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार काठमाडौं उपत्यकका भूकम्प पीडितहरुलाई २५ लाख र मोफसलका पीडितलाई १५ लाख रुपैयाँसम्म सहुलियत दरमा घर कर्जा उपलब्ध गराउने छन् ।

२ प्रतिशत व्याजमा ऋण लिन के गर्नुपर्छ ?

राष्ट्र बैंकले व्यवस्था गरेको सहुलियत दरको ऋण अनुदान होइन । त्यसैले समान्य अवस्थामा ऋण लिन जे जस्ता कागजात चाहिन्छ, यो ऋण लिन पनि ती कागजात चाहिन्छ ।

भूकम्पका कारण तपाईको घर बस्नै नहुनेगरी क्षतिग्रस्त भएको भनी सरकारी निकाय (गाविस र नगरपालिका) ले प्रमाणित गरेको हुनुपर्छ । त्यसपछि मात्रै तपाई सहुलियत दरको ऋणका लागि बैंकमा आवेदन दिन योग्य हुनुहुन्छ ।

दोस्रो, ऋण लिनका लागि तपाईसँग अनिवार्यरुपमा धितो (घर वा जग्गा) हुनुपर्छ । २५ लाख रुपैयाँ ऋण लिने हो भने तपाईसँग कम्तिमा बैंकका प्रतिनिधिले गरेको ५० देखि ६० लाख रुपैयाँ मूल्यांकनको धितो हुनुपर्छ । किनभने बैंकहरुले धितो मूल्यांकनको ४० देखि ५० प्रतिशत मात्रै ऋण दिन्छन् ।

त्यति मूल्य पर्ने जग्गा हुँदा मात्रै तपाईले ऋण पाउनुहुन्न । ऋण तिर्न सक्ने आम्दानीको स्रोत पनि बैंकले खोज्छ । त्यसका लागि कि तपाईसँग जागिर हुनुपर्छ, कि त व्यापार व्यवसाय । कृषिबाट पनि चित्तबुझ्दो आम्दानी देखाउन सक्नुभयो भने बैंकले ऋण दिन्छन् । नभए बैंकबाट खाली हात फर्किनुपर्ने हुन्छ ।

यसको अर्थ के हो भने भूकम्प पीडितलाई दिइने आवासीय कर्जा भूकम्प पीडित भएकै कारणमात्र भने पाइदैन ।

ऋण दुरुपयोग गरे जेल

घर बनाउन भनेर लिएको ऋण जग्गा वा घडेरी किन्न, व्यापार-व्यवसाय गर्नलगायतमा खर्च गर्नुभयो भने तपाईले कर्जा दुरुपयोग गरेको अभियोगमा बैंकिङ कसूर अन्तर्गत जेल साजाय भोग्नुपर्ने हुन्छ । धितो राखेको जग्गा बैंकले लिलामी गर्छ । र, तपाई सुकुम्बासीसमेत हुन सक्नुहुन्छ । त्यसैले ऋण तिर्न सक्ने हैसियत छ भने मात्रै सहुलियत दरको ऋण लिनुहोस् ।

सहुलित ऋणमा के-के सुविधा ?

भूकम्प पीडितलाई सहुलियत दरमा आवासीय ऋण दिन राष्ट्र बैंकले बैंकहरुलाई शून्य ब्याजदरमा एक वर्षका लागि पुनःकर्जा दिन्छ । र, बढीमा १० वर्षसम्म वाषिर्करुपमा पुनःकर्जाको नवीकरण हुन्छ । बैंकले तपाईको ऋण हरेक वर्ष नवीकरण गर्नेछन् ।

यस्तो ऋण लिएको एक वर्षसम्म तपाईले किस्ता तथा व्याज तिर्नुपर्ने छैन । तर, दोस्रो वर्षदेखि भने नियमितरुपमा किस्ता तिर्नुपर्छ । ऋणीले तोकिएको अवधि अगावै ऋण तिरे बैंकले अतिरिक्त शुल्क लिन पाउने छैन ।


पुष्प दुलाल