डीडीसीले धुलो दूध उत्पदन बढाउँदै, ११ करोड थप लगानी
मोरङ । एघार करोड रुपैयाँ लगानी थपेर दुग्ध विकास संस्थान विराटनगरले धुलो दूध कारखानामा उत्पादन क्षमता तेब्बर बनाउने भएको छ । संस्थानको विराटनगर शाखाका प्रबन्धक सरोजकुमार सिम्खडाका अनुसार चैतभित्रमा प्लान्टको क्षमता विस्तार भइसक्ने छ ।
चैत महिनामा दूध सङ्कलन कम हुने भएकाले कारखाना विस्तार सहज हुने अनुमान गरिएको छ । ‘हाल २० हजार लिटर दूधबाट धुलो दूध उत्पादन भइरहेको छ’, प्रबन्धक सिम्खडाले भने, ‘यसबाट एक हजार ६ सय किलोग्राम धुलो दूध उत्पादन हुन्छ । कारखानाको विस्तार गरिएपछि थप ४० हजार लिटर दूधबाट धुलो दूध उत्पादन गर्न सकिनेछ । दैनिक ६० हजार लिटर दूधबाट पाँच हजार किलोग्राम धुलो दूध उत्पादन गर्न सकिनेछ ।’ धुलो दूधको कारखानाको विस्तार गरिएपछि पूर्वका किसानले ‘मिल्क होलिडे’को समस्या भोग्नु पर्दैन ।
प्रबन्धक सिम्खडाका अनुसार पूर्वक्षेत्रका किसानले जति दूध उत्पादन गरे पनि संस्थानले खरिद गर्नेछ । सो कारखानाबाट उत्पादित धुलो दूधको बजार काठमाडौँ हो । टेन्डर भएर संस्थानको परिसरमा मेसिन आइसकेको प्रबन्धक सिम्खडाको भनाइ छ । सो मेसिन जडान गरेपछि दूध उत्पादन बढ्नेछ । हाल किसानबाट सङ्कलित ३० हजार लिटर दूध विराटनगरस्थित आयोजनामा आइरहेको छ । विराटनगरमा सङ्कलन गरिने दूधमध्ये ६० देखि ७० प्रतिशत इलामबाट आउँछ ।
यसबाहेक पाँचथर, झापा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी र सप्तरीबाट पनि दूध सङ्कलन भइरहेको छ । यसरी पूर्वाञ्चल क्षेत्र दूध र दूधजन्य पदार्थमा आत्मनिर्भर रहेको सिम्खडाको भनाइ छ ।
धुलो दूध मात्र नभई विराटनगरस्थित आयोजनाले उत्पादन गर्ने घिउ र मक्खनको ७० प्रतिशत बजार पनि काठमाडौँ हो । आयोजनाले दैनिक एक मेट्रिक टन मक्खन र त्यति नै मात्रामा घिउ उत्पादन गर्दै आएको छ ।