बिदेशी लगानीका बैंकले बढीमा सातजना बिदेशी कर्मचारी राख्न पाउने



काठमाडौ । बिदेशी लगानीमा स्थापना भएका बैंक तथा वित्तीय संस्थाले बढीमा ७ जनासम्म बिदेशी कर्मचारी राख्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतवार निर्देशिका जारी गर्दै बिदेशी कर्मचारी लिन पाउने सीमा तोकेको छ ।

राष्ट्र बैंकले जारी गरेको निर्देशिका अनुसार २० देखि ५० प्रतिशतसम्म बिदेशी लगानी रहेका बैंकले बढीमा ५ जना बिदेशी कर्मचारी नियुक्त गर्न पाउने छन् । ५० प्रतिशतदेखि  ७० प्रतिशतसम्म स्वामित्व रहेका बैंकले बढीमा ७ जनासम्म बिदेशी कर्मचारी नियुक्त गर्न पाउने छन् ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बिदेशी लगानी स्थापना भएका बैंक तथा वित्तीय संस्थामा बिदेशी कर्मचारी राख्ने विषयमा व्यवस्थित गर्नको लागि निर्देशिका लागू गरिएको बताए ।

‘अहिलेसम्म कति बिदेशी कर्मचारी राख्ने भन्ने व्यवस्था तोएिको थिएन, निर्देशिकाले लगानी अनुसार बिदेशी कर्मचारी तोकेको छ,’ पौडेलले क्लिकमाण्डूसँग भने ।

निर्देशिकाले राष्ट्रियस्तरको पत्रिकामा विज्ञापन प्रकाशित गरेर नेपाली नागरिकबाट सेवा नपाएको अवस्थामा मात्र बिदेशी नागरिकलाई काममा लगाउन पाउने व्यवस्था गरेको छ । बिदेशी नागरिकले बढीमा ५ वर्षसम्मको लागि मात्र काम गर्न पाउने छन् ।

बैंकले बिदेशी कर्मचारीबाट सेवा लिएपछि सो सेवामा नेपाली नागरिकलाई दक्ष बनाउनुपर्ने छ ।

केन्द्रीय बैंकले तोकिएको प्राविधिक पद बाहेक अन्य पदमा भने बिदेशी नागरिकलाई नियुक्त गर्न नपाउने व्यवस्था गरेको छ । बिदेशी लगानी नभएका बैंक तथा वित्तीय संस्थालाई भने बिदेशी नागरिकलाई जागिर दिन पूर्ण रुपमा रोक लगाइएको छ ।

तर,नेपाल सरकारको लगानी भएको बैंक तथा वित्तीय संस्थामा भने उच्च पदमा यस्तो नियुक्ती गर्न पाउने बाटो खुला राखिएको छ । सिइओको हकमा भने राष्ट्र बैंकले जारी गरेको सिइओ नियुक्तीको व्यवस्था लागू हुने छ ।


क्लिकमान्डु