हो, यो एसियाली शताब्दी हो तर, पश्चिमाहरूले आशा गर्ने ठाउँ अझै छ



हाम्रो समयकोे सबै मानिसले सामना गरेको सामान्य, तर महत्वपूर्ण प्रश्न के हो भने हामी मानवताको कुरालाई लिएर आशावादी हुने कि निराश । यो हामी सबै ७ अर्ब मानिसकै साझा प्रश्न हो । तर, यसमा मिश्रित प्रतिक्रिया छन् । पश्चिमा समाज निराश छ । बाँकी संसार भने यति धेरै कहिल्यै उत्साहित थिएन । यसले गत शताब्दीकोभन्दा विश्वको ढाँचामा केही परिवर्तन आएको जनाउँछ । जब पश्चिम ज्यादा आशावादी हुन्थ्यो । किन यस्तो भएको हो ? तथ्यले के बताउँछ ?

तथ्यहरू खुलस्त नै छन् । मान्छेको अवस्था यति राम्रो कहिल्यै पनि थिएन । विश्वब्यापीरुपमा गरिबी बिस्तारै घट्दैछ । सन् २०१५ मा हामीले संयुक्त राष्ट्रसंघको गरिबीलाई आधा घटाउने ‘मिलिनियम डेभलेपमेन्ट गोल’को लक्ष्य उछिनेका छौं । सन् २०३० सम्म चरम गरिबी अझै आधा घट्ने प्रक्षेपण गरिएको छ ।

विश्वमा मध्यम वर्गको संख्या उत्साहजनक ढंगले बढ्दैछ । सन् २०१० मा १ अर्ब ८० करोडबाट मध्यम वर्गको संख्या सन् २०२० मा ३ अर्ब २० करोड र सन् २०३० मा ४ अर्ब ९० करोड पुग्ने प्रक्षेपण गरिएको छ ।

त्यस्तै, विश्वको बाल मृत्युदर सन् १९९० को प्रतिहजार ६० बाट घटेर सन् २०१५ मा ३२ आइपुगेको छ । यसको अर्थ प्रतिवर्ष ४० लाख बालबालिका मृत्युबाट जोगिनु हो । हामी वस्तुपरक र निष्पक्ष हुने हो भने मानव स्थितिलाई लिएर उत्सव मनाइरहेका हुने थियौं ।

पश्चिमा आत्मकेन्द्रित रोइलो
तर, हामी किन खुशी मनाइरहेका छैनौं ? यसको सहज उत्तर, विश्व बौद्धिक वहसमा बलियो पकड राख्ने पश्चिमा बौद्धिकहरू भने विश्वब्यापीरुपमा गरिएका वाचा बिर्सेर आफ्नो समाजको तत्कालिन चुनौतिमा केन्द्रित भएर हो । फ्रान्सिस फुकुयामा भन्छन्, ‘डोनाल्ड ट्रम्पको विजय र हिलारी क्लिन्टनको पराजय अमेरिकी राजनीतिको लागि मात्र नभएर विश्व व्यवस्थाकै लागि महत्वपूर्ण घटना हो । हामी राष्ट्रवादको सस्तो लोकप्रियताको युगमा प्रवेश गरेका छौं । सन् २०५० बाट सुरु भएको उदारवादको प्रभुत्व अहिलेका ऊर्जावान् र उग्र प्रजातान्त्रिक जत्थाको आक्रमणमा पर्न थालेको छ, जसले अबको विश्व प्रतिस्पर्धा र उग्र राष्ट्रवादको भूमरीमा फस्दै जाने जोखिम बढेको छ । यदि यसमा फसेमा सन् १९८९ को बर्लिन पर्खाल ढल्नु जत्तिकै ठूलो घटना हुनेछ ।’

उनको शब्दमा ध्यान दिने हो भने उनी पश्चिमको अवस्थालाई विश्व परिस्थितिसँग मिलाएर हेर्दैछन् । यो सत्य हो कि पश्चिममा सस्तो लोकप्रियता बढ्दो छ । ट्रम्प र बे्रक्जिटले यो प्रमाणित गर्छ पनि । तर, यस्तो सस्तो लोकप्रियता जनसंख्या धेरै भएका एसिया र अफ्रिकी क्षेत्रमा भने अझै सुरु भएको छैन ।

अझ महत्वपूर्ण कुरा के हो भने विश्वको कूल जनसंख्याको १२ प्रतिशतमात्र पश्चिममा बस्ने गर्छन् । ८८ प्रतिशत बाहिरै बस्छन् । र, तिनीहरूको जीवनस्तर (केही अपवाद छोडेर) कहिल्यै राम्रो भएको छैन ।

उदाहरणका लागि जनसंख्या धेरै भएका तीन देश चीन, भारत र इन्डोनेसिया लिऔं । त्यहाँको करिब ३ अर्ब जनताको जीवनस्तर कहिल्यै राम्रो थिएन । तर, आगामी दशकहरूमा धेरै सुध्रिने अवस्था छ ।

सन् २०१० देखि २०२० को दशक एसियाको लागि इतिहासकै सबैभन्दा उपलब्धिमूलक रहेको छ । एसियामा मध्यम वर्गको संख्या सन् २०१० मा ५० करोडबाट सन् २०२० मा १ अर्ब ७५ करोड पुग्ने अनुमान गरिएको छ । अर्थात्, एसियाले यो दशकमा पश्चिमको कूल जनसंख्याको १.५ गुणालाई मध्यम वर्गमा उकाल्दैछ ।

यस्तो किन भएको हो ? यसको सहज उत्तर छ । पश्चिमको विज्ञान तथा प्रविधिको ब्यापकताले यसलाई अझ प्रस्ट पार्छ । एकदम आधारभूतस्तरमा कुरा गर्दा पनि पश्चिमा औषधिबाट संसारका सबै मानिस लाभान्वित भएका छन् । यसले गर्दा ‘कारण’ ले अन्धविश्वासको ठाउँ लिँदैछ । आर्थिक नीतिदेखि पर्यावरण व्यवस्थापन र शिक्षादेखि सहरी विकासजस्ता मानव जीवनका विभिन्न पाटोमा पनि पश्चिमा चलनहरू विश्वव्यापीरुपमा स्थापित भएका छन् ।

त्यसो भए किन पश्चिमाहरूमा यस्तो निराशावादी सोच हावी भएको ?

यदि विश्व पहिलेभन्दा राम्रो हुँदैछ भने पश्चिमाहरू किन यस्तो निराश भएका ? यसको सहज उत्तर के हो भने सोभियत संघको सन् १९९१ मा विघटनपश्चात् उनीहरूले गलत रणनीति अपनाए । ब्रिटिस सेनाले दोस्रो विश्वयुद्धमा सिङ्गापुरमा अपनाएको रणनीतिजस्तै । उनीहरू समुन्द्रको दक्षिणतर्फ बन्दुक तेर्साएर बसेका थिए, तर जापानीहरू स्थलमार्ग हुँदै उत्तरतर्फबाट आए ।

अझ स्पस्टरुपमा भन्नुपर्दा पश्चिमाहरूले शीतयुद्धमा विजय पाएपछि एउटा अजंगको संघर्षमा विजय प्राप्त गरेको सोचे । परिणामस्वरुप उनीहरूले एसियाको उदयसँगै अझ ठूलो संघर्ष सुरु भएको हेक्का राखेनन् । चीनले विश्व आर्थिक प्रणालीमा सन् १९८० देखि फेरि भाग लिने निधो ग¥यो । भारतले पनि सन् १९९० मा यस्तै ग¥यो । ३ अर्ब एसियालीको पुनः आगमनले विश्व अर्थतन्त्रमा हलचल आउनु स्वभाविकै थियो । तर, पश्चिमाहरूले भने ख्यालै गरेनन् ।

उनीहरूले ख्याल नगर्नुको कारण उनीहरूमा विजयको अस्वस्थ मात लागेको थियो । फ्रान्सिस फुकुयामाको ‘एण्ड अफ हिस्ट्री’ नामक निबन्धले यसलाई राम्रोसँग उतारेको छ । त्यसैले पश्चिमाहरूले अरूमाथि गलतढंगले हस्तक्षेप गर्ने नीति अपनाए । धेरै हस्तक्षेपहरूले दुर्घटना निम्त्याए ।

माइकल मान्डेलबमका अनुसार क्लिन्टन प्रशासनको उपलब्धि खासै उत्साहजनक छैन । ‘सोमालियामा थिति बसाल्न गयो, तर बेथिति बनाएर फर्कियो । हाइटीमा प्रजातन्त्र पुनस्र्थापना गर्न गई अराजक बनाएर आयो । बोस्नियामा त झन् राष्ट्रिय एकता मजबुत पार्न गएको, तर देश त झन् टुक्रियो पो ।’

सेप्टेम्बर ९/११ को घटनाले झन् बिगा¥यो । यसले जर्ज बुसका नव उपनिवेशवादी सल्लाहकारहरूलाई अफ्गानिस्तान र इराक आक्रमण गर्न बहकायो । एक दशकपछि युरोपियनहरू आफ्नो देशमा आउने दुई तिहाई शरणार्थीहरू यिनै इराक, अफ्गानिस्तान र सिरियाबाट आएको देखिरहेका छन् ।

तर, यो सबैभन्दा ठूलो दुर्घटना थिएन । पश्चिमा रणनीतिकारहरू तिलमिलाएका बेला सन् २००१ को सबैभन्दा ठूलो घटना ९÷११ नभई चीनको विश्व ब्यापार संगठनमा प्रवेश हो भन्ने कुरा पत्तै पाएनन् । १ अर्ब कामदारको विश्व व्यापार प्रणालीमा प्रवेशले स्वभाविकरुपमा ‘सिर्जनात्मक विनाश’ गरेर धेरै रोजगारी त गुमाउँछ नै ।

ट्रम्प र ब्रेक्सिट पक्कै पनि पश्चिमको गलत नीतिको परिणाम हुन् । पश्चिम तिलमिलिएका बेला चीन उदायो । अन्तर्राष्ट्रिय मुद्राकोषको सन् १९८० को तथ्याङ्कअनुसार विश्वको कूल जीडीपीमा अमेरिकाको २५ प्रतिशत हिस्सा थियो भने चीनको २.२ प्रतिशत थियो । सन् २०१६ मा अमेरिकाको हिस्सा १५.५ प्रतिशतमा खुम्चियो भने चीनको १७.९ प्रतिशतमा उक्लियो ।

पश्चिमको तुलनात्मकरुपमा अधोगति
पश्चिमको निराशा स्वभाविक जस्तो पनि लाग्छ । सन् १८२० देखि पश्चिमा आर्थिक शक्ति या त विस्तारै बढ्यो वा विश्वमा ठूलो हैसियत राख्यो । तर, पछिल्लो तीन दशकमा उत्तर अमेरिका र पश्चिम यूरोपको जीडीपी विश्वको कूल जीडीपीको सन् १९९० मा ५१.५ प्रतिशतबाट घटेर सन् २०१४ मा ३३.४५ प्रतिशतमा झरेको छ ।

अझ बेला–बेलामा झन् विनाशकारी रणीतिक परिवर्तन भएका छन् । पश्चिममा धेरै कामदारले आफ्नो काम गुमाउँदै गर्दा केही सम्भ्रान्त भने बढ्दो भूमण्डलीकरण र एसियाको उदयका बीच झन्–झन् धनी हुँदै गएका छन् ।

आरडब्लु जोन्सनले अमेरिकी कामदारको पीडा राम्रोसँग ब्याख्या गरेका छन् । ‘सन् १९४८ देखि १९७३ सम्म उत्पादकत्व ९६.७ प्रतिशत र ज्याला ९१.३ प्रतिशतले बढेको छ । ती दिनहरूमा स्टिल र अटोमा धेरै रोजगारी उपलब्ध थिए । र, कामदारले उनीहरूका छोराछोरी कलेज गई पढेको र मध्यम वर्गमा उक्लेको देख्न पाउँथे । तर, सन् १९७३ देखि २०१५ सम्मको भूमण्डलीकरणको युगमा धेरै रोजगारी हराए । उत्पादकत्व ७३.४ बढ्यो भने ज्याला ११.१ प्रतिशतले मात्र बढ्यो । सन् २००० देखि त झन् कलेज ग्राजुएटहरूका तलबसमेत घट्न थालेका छन् ।’

आशावादी हुनुपर्ने कारण
आजका दिनमा पश्चिमले सामना गर्ने सहज प्रश्न छ । के सबै थोक सकियो त ? के पश्चिमा शक्ति र प्रभाव विस्तारै घट्दै गएको हो ? वा अझ केही आशा बाँकी छन् ? के पश्चिमले पनि बाँकी दुनिँयाको उदयबाट फाइदा लिन सक्छ ?

यसको सहज उत्तर के हो भने बाँकी दुनिँयाको उदयबाट पनि पश्चिमले फाइदा लिनसक्छ । ८८ प्रतिशत जनसंख्या उक्लिँदा बाँकी १२ प्रतिशत नउक्लिने कुरै छैन । तर, यसका लागि पश्चिमका नेता र पण्डितहरूले आफूलाई मनोवैज्ञानिकरुपमा भने धेरै परिवर्तन गर्नुपर्ने छ ।

सधैँ विश्वमा पकड जमाउन खोज्नुको सट्टा पश्चिमले शक्ति बाँडफाँट गर्न सिक्नुपर्छ । एसियनहरूलाई पनि अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैंकजस्ता संस्थामा ठूलो भूमिका दिनुपर्छ । उदाउँदा एसियाली देशहरू चीन र भारतलाई सम्मानका साथ ब्यवहार गर्नुपर्छ । भारतलाई संयूक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा ठाउँ दिई संयुक्त अधिराज्य र फ्रान्सजस्ता देशहरू पछि हट्नुपर्छ । यो कैयौं पश्चिमा दिमागहरूलाई नपच्न सक्छ । तर, केही अघिसम्म पश्चिमभन्दा अरू आशावादी होलान् भन्ने कुरा पनि पच्दैनथ्यो नि ।