जग हालिसकेका भूकम्प पीडितको संख्या ७२० मात्रै, एनजीओले जिम्मा लिएका ठाउमा बाँढ्न थालियो दोस्रो किस्ता




काठमाडौं । भूकम्पपछिको पुनःनिर्माण कार्य एकदमै सुस्त गतिमा अगाढि बढेको छ । भूकम्प गएको २२ महिना बितिसक्दा पनि सरकारी ढिलासुस्तीका कारण निजी आवास पुननिर्माणले गति लिन नसकेको हो ।

२०७२ को बैशाखमा गएको शक्तिशाली भूकम्पको कारण क्षति भएका निजी आवाश बनाउन सरकारले पनि अनुदान सहयोग दिने घोषणा गरेको थियो । सरकारी अनुदान लिन तोकिएको मापदण्ड पूरा हुनुपर्ने र सरकारले पैसा दिए पछि मात्रै घर निर्माण सुरु गर्नुपर्ने जस्ता कारणले निजी आवाश निर्माणमा ढिलाइ भएको हो ।

‘हामीले दिएको रकम र इन्जिनियरले गरेको सिफारिस भेट हुनुपर्छ, कतै पैसा पुगेको छैन, कतै सिफारिस आएको छैन, यी दुबैको तालमेल भएमा मात्र दोस्रो किस्ता जाने हो, यसकारण पनि ढिलाइ भएको छ,’ वस्तीको भनाइ छ ।

दोस्रो किस्ताको अनुदान दिन रकमको अख्तियारी नै ढिला आएकोले पीडितसम्म पुग्न ढिला भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जानकारी दिएको छ ।

‘मसम्म पैसा आउन नै ढिला भयो, गत बिहिबार पैसा आएपछि मैले शुक्रबार सम्बन्धित कार्यालयहरुलाई दोस्रो किस्ता खर्चको अख्तियारी पठाएको छु, सम्बन्धित कार्यालयमा पुगेको छ/छैन अझै थाहा भएको छैन, यस्तै कारणले सर्बसाधारणसम्म दोस्रो किस्ता पुग्न ढिला भएको हो,’ इकाइका प्रमुख गणेशराज वस्तीले क्लिकमाण्डूसँग भने ।

यस्तै उनले ४ जिल्लाका ७२० परिवारले जग निर्माण सम्पन्न गरी दोस्रो किस्ता बुझेको जानकारी पनि दिए । यसरी दोस्रो किस्ता बुझ्ने परिवारहरुमा मकवानपुरका ६ सय, सिन्धुलीका ७३, गोरखाका ४१ र नुवाकोटका ६ परिवार रहेको वस्तीको भनाइ छ ।

यी परिवारले पहिलो किस्ताको ५० हजार रुपैयाँ बुझी घरको जग निर्माण गरेर दोस्रो किस्ताको एक लाख ५० हजार रुपैयाँ लिएका हुन् ।

यसरी दोस्रो किस्ता पनि सरकारी निकायले वितरण गरेका होइनन् । सरकारसँग सम्झौता गरेर काम गरिरहेका गैरसरकारी संस्थाहरु मार्फत दोस्रो किस्ताको रकम वितरण गरिएको वस्तीले जानकारी दिए ।

पुननिर्माण प्राधिकरण र गैरसरकारी संस्थाहरुबीच पुननिर्माणमा सहयोग गर्ने सम्झौता भइसकेको छ । यस्तो सम्झौता अनुसार भूकम्प अति प्रभावित १४ जिल्लामा २० हजार पीडितलाई गैरसरकारी संस्थाले पुनःनिर्माणका लागि अनुदान दिनेछन् । गैरसरकारी संस्थाबाट अनुदान प्राप्त गर्ने परिवारले सरकारबाट अनुदान पाउदैनन् ।

सरकारले सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर र भक्तपुर गरी १४ जिल्लालाई भूकम्प अति प्रभावित जिल्ला घोषणा गरेको छ ।

यी जिल्लामा पहिलो किस्ता लिई जग निर्माण गरेर इन्जिनियरबाट सिफारिस भई आएका लाभग्राहीलाई दोस्रो किस्ता अनुदान रकम वितरण गरिने हो । यसको लागि ११ अर्ब निकासा भइसकेको वस्तीले जानकारी दिए । गत शुक्रबार निकासा गरिएको सो रकमले ७३ हजार लाभग्राहीलाई दोस्रो किस्ता वितरण गर्नपुग्छ ।

दोस्रो किस्ताले घरनिर्माण सम्पन्न गरेको सहरी विकास मन्त्रालय अन्तर्गत खटिएका प्राविधिकले सिफारिस गरेपछि छाना छाउने प्रयोजनका लागि १ लाख रुपैयाँ तेस्रो किस्तामा वितरण गरिने छ ।

शहरी बिकास मन्त्रालयले नियुक्त गरेका इन्जिनियरहरुको असहयोगको कारण पनि दोस्रो किस्ता वितरण्मा ढिलाई भएको इकाइको दाबी छ । ‘हामीले दिएको रकम र इन्जिनियरले गरेको सिफारिस भेट हुनुपर्छ, कतै पैसा पुगेको छैन, कतै सिफारिस आएको छैन, यी दुबैको तालमेल भएमा मात्र दोस्रो किस्ता जाने हो, यसकारण पनि ढिलाइ भएको छ,’ वस्तीको भनाइ छ ।


क्लिकमान्डु