बृहत् चिमखोला खानेपानी आयोजना निर्माण सुरु



म्याग्दी । म्याग्दीमा बृहत् चिमखोला खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ ।

रु छ करोड ९७ लाख ४० हजार सात सय १२ को लागतमा सुरु भएको सो आयोजनाबाट चिमखोलाका चार सय २८ घरपरिवार लाभान्वित हुने खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दीका प्रमुख इन्जिनियर शेखरचन्द्र केसीले जानकारी दिए ।

‘सबै घरमा मिटर सहितको निजी धारा जडान हुनेछ,’ इन्जिनियर केसीले भने, ‘आयोजनाअन्तर्गत २ देखि ७ नम्बर वडामा ढल निकासका लागि पूर्वाधारसमेत बनाइने भएको छ ।’

आयोजनाअन्तर्गत एक लाख ५० हजार र चार हजार लिटर क्षमताका एक/एक र पाँच हजार लिटर क्षमताका तीनवटा ट्याङ्की निर्माण हुने भएको छ । दुईवटा सार्वजनिक शौचालयसमेत निर्माण गर्ने योजना छ । ११ वटा स्किममा निर्माण हुने आयोजनाको १३ वटा मुहान रहेको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।

गत आर्थिक वर्ष २०७२/७३ मा सर्वेक्षण भएको सो आयोजनाका लागि चालु आवमा रु ३० लाख बजेट विनियोजना भएको सबडिभिजन प्रमुख केसीले बताए । पूर्वाधार निर्माणको काम सुरु गर्न ओमबहादुर पुनको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिसँग सम्झौतासमेत भइसकेको जनाइएको छ ।

आयोजनामा उपभोक्ताको कुल लागतको २० प्रतिशत अर्थात् रु एक करोड ३९ लाख ४८ हजार एक सय ४२ बराबरको श्रम र नगद सहभागिता रहने छ । सार्वजनिक धाराबाट खानेपानीको उपभोग गर्दै आएका चिमखोलाका बासिन्दा गाउँमा बृहत् आयोजना भित्रिएपछि उत्साहित भएका छन् ।

समितिका अध्यक्ष ओमबहादुर पुनले चिमखोलामा यो हालसम्मकै ठूलो विकास आयोजना भित्रिएको बताए। आयोजनालाई गुणस्तरीय र समयमै सम्पन्न गर्ने अध्यक्ष पुनले प्रतिबद्धता जनाए। आव २०७६/७७ मा आयोजना सम्पन्न गर्ने लक्ष्य छ । उपभोक्ताको सक्रियता भएमा लक्ष्य अघि नै र अनुमानितभन्दा कम लागतमा आयोजना निर्माण गर्न सकिने सबडिभिजन प्रमुख केसीले बताए ।

यसैबीच चिमखोलाबाट भगवती र पिप्ले गाविसमा खानेपानी ल्याउनका लागि सञ्चालन हुन लागेको बृहत् भगवती पिप्ले खानेपानी तथा सरसफाइ आयोजनाको सर्वेक्षण गरी लगत अनुमान लागत तयार पार्न लागिएको पनि खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दीले जनाएको छ । रासस


क्लिकमान्डु