प्रजिअ भन्छन्, पुनःनिर्माणको काम नाममात्रै ! काभ्रेका दश गाविसमा अझै सुरु भएन




बनेपा । काभ्रेपलाञ्चोकका दश गाविसमा अझै पनि पुनःनिर्माणको काम सुरु हुन सकेको छैन ।

जिल्लाको गोकुले, मादनकुँडारी, फलामेटार, फलाटे, सिसाखानी, ठूलो पर्सेल, फोक्सिङटारलगायत दश गाविसमा सिकर्मी, डकर्मी सहित प्राविधिकको अभाव र दुर्गम क्षेत्र भएका कारणले पनि पुनःनिर्माणको काम सुरु हुन नसकेको सहरी विकास भवन डिभिजन कार्यालयले जनाएको छ ।

विगतमा इन्जिनियरको राजीनामाले पनि पुनःनिर्माणको काम सुस्त भएको हो भन्दै कार्यालयका प्रमुख अष्टलाल सुवालले ती गाविसमा छिटै काम हुने गरी तयारी भएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी शिव शिंखडाले पुनःनिर्माणको काम नाम मात्रैको भएकाले सन्तुष्टि जनाउने ठाउँ छैन भन्दै अहिलेसम्म २८ प्रतिशत भन्दा बढी काम नभएकाले अब यसलाई छिटोभन्दा छिटो निष्कर्षमा पु¥याउन आवश्यक छ भने ।

जिल्लाको फलाँटे र भुम्लुटार गाविसमा लालपुर्जा नभएका कारण पहिलो किस्ताबापतको रकम पाउन पनि स्थानीयवासीलाई अप्ठ्यारो परेको जानकारी दिँदै प्रजिअ शिंखडाले भूमिहीन र सुकुम्बासीको समस्याले पनि पुनःनिर्माणको काम प्रभावित भएको बताए ।

स्थानीय विकास अधिकारी, टेकराज निरौलाले जिल्लाको १२ गाविसमा मात्रै पूर्णरुपमा लाभग्राहीसँग सम्झौता भएको जानकारी दिँदै भूकम्पपीडितका लागि दोस्रो किस्ता रकम वितरण गर्न निर्देशिका बन्न ढिलाइ भएकाले समस्या भएको बताए ।

अहिलेसम्म जिल्लाको ७५ गाविस र पाँच नगरपालिकामा कुल ६७ हजार ७११ लाभग्राहीमध्ये ६२ हजार ४१३ जनासँग मात्रै अनुदान सम्झौता भएको जिविसको तथ्याङ्कमा उल्लेख छ । रासस


क्लिकमान्डु