स्थानियबासीले नै रोके मोदीखोलामा पुल निर्माणकार्य



पर्वत । कुल तीन करोड ५० लाख रुपैयाँको लागतमा मोदीबेनीमा निर्माण गर्न लागिएको मोटरेबल पुलमा स्थानीय बासिन्दाले अवरोध गर्दा निर्माण कार्य रोकिएको छ ।

प्रसिद्ध ऐतिहासिक तथा पौराणिक स्थान मोदीवेनीमा रहेका मठ, मन्दिर, पाटीपौवा र वृद्धाश्रममा समेत क्षति पुग्ने भन्दै उनीहरुले अवरोध गरेका हुन् । उक्त ठाउँमा मोटरेबल पुल निर्माणले पुरातात्विक संरचना ध्वस्त हुने र मोदीबेनी धामको अस्तित्व समेत समाप्त हुने उनीहरुको भनाइ छ ।

उनीहरुले प्रस्तावित नक्साङ्कन भएको ठाउँबाट करिब २०० मिटर पूर्वपट्टि मल्याङ्दी खोला नजिक पुल निर्माण गर्न भन्दै मन्त्रालयमा समेत निवेदन दिएका छन् ।

उक्त पुलको दुई वर्षभित्रमा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरी काम अगाडि बढाइएको थियो । पुलको लम्बाइ १४० मिटर र चौडाइ आठ मिटर रहने गरी ठेक्का सम्झौता भएको थियो ।

उक्त ठाउँमा पुल निर्माण सम्पन्न भए लोकमार्गले छोएका तथा नजिक पर्ने दर्जनौँ जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । अहिले कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास–कुश्मा सडकखण्डको ट्र्याक खोल्ने काम भइरहेको छ ।


क्लिकमान्डु