ठेकेदार कम्पनीको कारण जयनगर-बर्दिबास रेल निर्माणले गति लिन सकेन



धनुषा । जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलमार्ग आठ वर्षअघि सम्झौता भए पनि निर्माणको कामले गति लिन नसक्दा समयमा निर्माणकार्य पुरा नहुने भएको छ ।

भौतिक निर्माण तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले एक वर्ष भित्रमा जयनगरदेखि जनकपुरसम्म रेल चलाउन निर्देशन दिएपनि रेल सञ्चालन हुने अवस्था देखिँदैन ।

सन् १९९४ सालदेखि सञ्चालनमा आएको जनकपुर–जयनगर–विजलपुरा रेल सेवा अहिले बन्द छ । तीन वर्षअघि भारतीय सीमावर्ती क्षेत्र जयनगरदेखि जनकपुरसम्म ब्रोडगेज रेलमार्ग निर्माणको काम सुरु गरिए पनि प्राविधिक र निर्माण कार्यमा भएको ढिलाइले काम समयमै सकिने छाँटकाँट नदेखिएको नायक इन्फ्रास्ट्रक्चर लिमिटेड, असम, भारतका प्रोजेक्ट म्यानेजर आदित्य सेनापतिको भनाइ छ ।

जयनगरदेखि महुवासम्मको २७ किलोमिटरमा माटो, ग्राभेल बिछ्याउनुका साथै पुलपुलेसाको निर्माणको जिम्मेवारी पाएका ठेकेदारले सरोकारवालाले निर्माण सामग्री ढुवानीको वातावरण नबनाएका कारण एक वर्षभित्र काम पूरा नहुने बहाना बनाउँदै आएका छन् ।

जम्मा ६९ किलोमिटरको यो रेलमार्ग निर्माणका लागि भारत सरकारले भारु पाँच अर्ब ५० करोड सहयोग गरेको छ ।


क्लिकमान्डु