अब कता जाला सेयर बजार ?



काठमाडौं । सेयरबजार सामान्यतः तीन अवस्थामा रहन्छ । बढ्दो क्रम, घट्दो क्रम र स्थिर । पछिल्ला केही महिनामा नेप्सेको अवस्था हेर्ने हो भने कहिले घट्दो त कहिले स्थिर देखिन्छ । अबका दिनमा नेप्सेको दिशा के होला भन्ने चासो आम लगानीकर्तामा छ ।

बैंक तथा वित्तीय संस्थाको ब्याजदर र सेयर बजारको एकदम नजिकको सम्बन्ध हुन्छ । अझ सीधा रुपमा भन्नुपर्दा सेयर बजारको र ब्याजदरको उल्टो सम्बन्ध हुन्छ । ब्याजदर बढ्दा सेयर बजार घट्छ भने ब्याजदर घट्दा नेप्से बढ्छ ।

अझ नेपालको सेयर बजारको सम्बन्धमा त रोचक पक्ष के छ भने जुन संस्थाले ब्याज बढाउँदा र घटाउँदा समग्र बजारमा उतारचढाव हुन्छ तिनै संस्थाको सेयरबजारमा समेत बाहुल्यता छ ।

नेपाली सेयर बजारमा बैंक तथा बित्तीय संस्थाको उपस्थिति करीब ७१ प्रतिशत हाराहारी छ । अर्थात, नेपालको सन्दर्भमा बैंकहरुले बढाउने वा घटाउने ब्याजदरका अलावा उनीहरुको नाफा नोक्सानले पनि समग्र बजारमा उथलपुथल ल्याउने गर्छ ।
अब ब्याजदरसँग जोडिएर केही कुरा गरौं । आजै मात्रै एनसीसी बैंकले १२० दिनको मुद्धति खाताको लागि १२ प्रतिशत ब्याजदर दिने सार्बजनिक सुचना प्रकाशित गरेको छ । एनसीसी बैंक प्रतिनिधि बैंक मात्र हो । पछिल्ला केहि हप्तामा अरु धेरै बैंकहरुले पनि यस्तै आकर्षक ब्याजदरको घोषण गर्दै आएका छन् । यी ब्याजदर अहिलेको अवस्थामा सेयर बजारमा लगानी गर्नु भन्दा आकर्षक देखिएको छ ।

पछिल्ला दिनमा ऋणको माग निक्षेपको तुलनामा अत्याधिक बढेका कारण तरलतामा समस्या देखिएको छ । यस अबधिमा बैंकहरुको कर्जा पूँजी –निक्षेप–अनुपात (सिसिडी रेसियो) राष्ट्र बैंकले तोके बमोजिम ८० प्रतिशतको हाराहारी पुगिसकेको छ । यहाँ भन्दा माथि जाने सुबिधा बैकहरुलाई छैन । यस्तो तरलता अभावको स्थितिमा ठूला लगानीकर्ता बजार प्रवेश गर्ने अवस्था हुन्न । जसका कारण माग भन्दा आपूर्ति बढि भई बजार बढ्न गाह्रो देखिन्छ ।

अब नेप्सेको ७१ प्रतिशत हिस्सा ओगट्ने बैंक तथा बित्तीय संस्थाको नाफाको कुरा गरौं । राष्ट्र बैंकको पूँजी बृद्धिको निर्णय पछि बैकहरु अहिले पूँजी बढाउने चटारोमा छन् । बाणिज्य बैंकहरुले ४ गुणा पूँजी बढाएका छन् । पूँजी बढाए पनि उनीहरुले सोही अनुसारको नाफा बढाउँदै लगेका थिए । तर, पछिल्ला दिनमा राष्ट्र बैंकले बैंकहरुलाई अनुत्पादक क्षेत्रमा ऋण कम गर्न चेतावनी दिन थालेको छ । बैंकहरुले आफै अग्रसर भएर यसमा कदम नचाले राष्ट्र बैंकले कडा कदम चाल्ने संकेत दिएको छ ।

यसै बिच अन्तराष्ट्रिय मुद्रा कोषले समेत अनुत्पादक क्षेत्रमा ऋण नियन्त्रण गर्नुपर्ने सुझाव राष्ट्र बैंकलाई दिएको छ । यसरी कर्जामा नियन्त्रण गरे आगामी दिनमा भारी मात्रामा पूँजी बढाएका बैंकले कहाँ लगानी गरी लगानीकर्तालाई नाफा बाँड्लान् भन्ने महत्वपूर्ण कुरा हो ।

अन्तमा, चरम तरलता अभावका कारण बढ्दै गएको ब्याजदर, जो सेयर लगानी भन्दा आकर्षक हुनसक्छ र बढ्दो पूँजी र राष्ट्र बैंकको नियन्त्रण, जसले बैंकको नाफामा प्रतिकुल असर पार्छन । यस्तो अवस्थामा सेयर बजा कता जाला ? यो प्रश्नको जवाफ खोज्न चैत मसान्त कुनुपर्ने हुनुसक्छ ।

२५ अंकले घट्यो नेप्से
यसैविच मंगलबार पूँजी बजारमा उल्लेख्य कमी आएको छ । बजार मापक नेप्से परिसुचक करिब २५ अंकले घटेर १४३२.९९ विन्दुमा आइपुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार सो दिन १३० कम्पनीका ८ लाख ५३ हजार ४६० कित्ता सेयर ३८ करोड ५७ लाख रुपैयाँमा खरिद विक्री भए ।

सो दिन सबै समुहका परिसुचक घटेका छन् । बैंकिङ समुह २६ अंकले, होटल समुह १२.३२ अंकले, विकास बैंक समुह २०.१५ अंकले, जलविद्युत कम्पनी समुह ३०.४४ अंकले, फाइनान्स कम्पनी समुह १८.४१ अंकले, बीमा समुह १४०.७४ अंकले र अन्य समुह ६.६५ अंकले घटेको छ ।


क्लिकमान्डु