डडेल्धुरामा सुन्तला बगैँचा सुदृढिकरण अभियान



डडेल्धुरा ।सुन्तलाका लागि प्रख्यात मानिएको डडेल्धुरामा पछिल्लो समय उत्पादनमा कमी आएपछि बगैँचा सुदृढिकरण अभियान सुरु गरिएको छ ।

केही वर्षयतादेखि सुन्तलाका बोट सुक्दै जान थालेपछि बिरुवालाई जोगाउनदेखि नयाँ बिरुवा लगाउन र उत्पादनमा समेत वृद्धि गर्न जिल्ला कृषि विकास कार्यालयले बगैँचा सुदृढिकरण अभियान सुरु गरेको हो ।

बगैँचा सुदृढिकरण अभियान अन्तर्गत सम्बद्ध किसानलाई तालिम प्रदान गरी बगैँचाको सुदृढीकरणलगायत बिरुवा बचाउने अभियानको थालनी गरिएको हो । जिल्लामा जुनार  तथा सुन्तालाजातका फलफूलको उत्पादन  घटन थालेको कृषकको गुनासो आएपछि फलफूलखेती संरक्षण तथा प्रवद्र्धन र सुदृढिकरण गर्न थालिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

तालिममा फलफूलका बोटलाई काँटछाँट गर्ने, चुना र निलोथुतो मिश्रण गरी पेस्टिङ गर्ने, सुरक्षा दिने  र गुणस्तरीय उत्पादनका लागि प्रयोगात्मक र श्रव्यदृष्य माध्यमबाट जानकारी गराउनुका साथै आवश्यक उपकरण पनि प्रदान गर्दै आएको कार्यालयका वरिष्ठ कृषि अधिकृत दिलबहादुर विष्टले जाकारी दिए ।

फलफूलका बिरुवामा लाग्ने रोगदेखि  विविध विषयमा जानकारी पाउन थालेपछि किसान हर्षित भएको सुन्तलाका बिरुवासमेत बेचबिखन गर्दैआएका बगरकोट– ५ सिराडका नवराज जैसीले बताए । डडेल्धुरा जिल्लामा ४६७ हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाको खेती हुने गरेको वरिष्ठ अधिकृत विष्टले बताए । रासस


क्लिकमान्डु