म्याग्दीका पचास भन्दा बढी कृषक पुरस्कृत



म्याग्दी । उत्कृष्ट फसल उत्पादन गर्ने म्याग्दीका पचास भन्दा बढी कृषक पुरस्कृत भएका छन् ।

जिल्ला कृषि विकास कार्यालय र सुआहारा परियोजनाको बेनीमा आयोजना गरेको जिल्लास्तरीय कृषि मेला प्रदर्शनीको समापनका अवसरमा आज ५८ कृषकलाई पुरस्कृत गरिएको हो ।

विभिन्न सातवटा विधामा प्रथम, द्वितीय र तृतीय हुने २१ कृषकलाई क्रमश एक हजार, सात सय र पाँच सय रुपैयाँका दरले पुरस्कृत गरिएको बागबानी विकास अधिकृत भोजबहादुर थापाले जानकारी दिए ।

यसैगरी सान्तवना हुने सात र अन्य तीस कृषकलाई तीन सय रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको थियो । कृषकलाई प्रोत्साहन र हौसला प्रदान गर्न पुरस्कार प्रदान गरिएको बागबानी विकास अधिकृत थापाले बताए ।

कृषि उपजको बजारीकरण, प्रर्वद्धनसँगै कृषकलाई  व्यावसायिक र प्रतिस्पर्धी बनाउन तीन दिनसम्म सञ्चालन भएको मेलामा बेनी नगरपालिका र १५ गाविसका एकसय ७५ कृषकले ५५ प्रकारका कृषि उपज प्रदर्शन गरेका थिए ।

खाद्यान्न, दलहन, तरकारी, आलु, फलफूल, उन्नत माछा, हाँस र विविध गरी सात विधाका कृषि उपज प्रदर्शनीमा राखिएको थियो । प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, स्थानीय विकास अधिकारी प्रेमराज गिरी, प्रहरी नायब उपरीक्षक विश्वराज खड्का, वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले पुरस्कार वितरण गरेका थिए । रासस


क्लिकमान्डु