आज पनि लिएनन् बैंकहरुले रिपो




काठमाडौं । तरलताको कमी भएको भनिएको समयमा नेपाल राष्ट्र बैंकले जारी गरेको रिपो फेरि पनि न्यून बिक्री भएको छ । आइतवार राष्ट्र बैंकले जारी गरेको १० अर्बको रिपोमा जम्मा साढे ३ अर्ब रुपैयाँ मात्रै बिक्री भएको छ ।

आइतबार जारी गरिएको १० अर्ब रुपैयाँको रिपोमा बैंकहरुले ३ अर्ब ४९ करोड रुपैयाँ मात्रै लिन प्रस्ताव पेश गरेका राष्ट्र बैंकको राष्ट्र ऋण ब्यवस्थापन विभागका प्रमुख त्रिलोचन पंगेनीले जानकारी दिए ।

सो रकम बराबरको रिपोमा ५ बैंक सहभागी भएका थिए । सहभागी बैंकमध्ये सिटिजन्स बैंक इन्टरनेसनलले ६० करोड, ज्योति विकास बैंकले १७ करोड, कृषि विकास बैंकले ५० करोड, मेगा बैंकले १ अर्ब ४७ करोड र एनआइसी एशिया बैंकले ७५ करोड रुपैयाँ लिएका छन् ।

बोककबोल प्रक्रियाबाट जारी गरिएको सो रिपोको ब्याजदर ४.८७ प्रतिशत कायम भएको छ । राष्ट्र बैंकले गत शुक्रबार जारी गरेको २० अर्ब रुपैयाँको रिपोमा पनि जम्मा १ अर्ब ९० करोड रुपैयाँको मात्रै माग भएको थियो ।

गत बिहिबार साँझ सुचना प्रकाशित गरेर शुक्रबार रिपो जारी गरिएको थियो । छोटो समयमा रिपो जारी गर्ने निर्णय भएको र यसअघि शुक्रबार रिपो जारी गर्ने चलन नभएकोले बैंकहरुले जानकारी पाएनन् कि भन्ने उद्देश्यले राष्ट्र बैंकले आइतबार पुन रिपो जारी गरेको थियो ।

दुबै दिनको रिपो बिक्री नहुनुले बैंकिङ क्षेत्रमा तरलताको कमी नभएको पुष्टी भएको पंगेनीले बताए । ‘आवश्यक परेको भए बैंकहरुले लिने थिए, उनीहरुसँग चाहिने जति तरलता छ, त्यसैले रिपो लिन आएनन्,’ कार्यकारी निर्देशक पंगेनीले भने ।


क्लिकमान्डु