स्याउ सङ्कलन केन्द्रलाई ग्रेडिङ मेसिन, किसानले नै उत्पादनको ग्रेडिङ गर्न सक्ने



जुम्ला । दलित सदस्यहरु मात्र आबद्ध रहेको गज्र्याङ्कोट २ र ३ जुम्लामा स्थापित कृषि सङ्कलन केन्द्रलाई चार लाख रुपैयाँ बराबरको स्याउ ग्रेडिङ मेसिन सहयोग गरिएको छ ।

उच्च मूल्य कृषि वस्तु विकास आयोजना (एचभिएपी) ले ग्रेडिङ मेसिन सहयोग गरेको हो । ग्रेडिङ मेसिनसहित आयोजनाले १६ लाख ९० हजार रुपैयाँ बराबरको भवन निर्माणमा सहयोग पु¥याएको आयोजनाका कृषि अधिकृत सुरेशकुमार थापाले जानकारी दिए ।

भारतको हरियाणा राज्यको अम्बला सहरबाट मेसिन खरिद गरी कृषक समूहलाई हस्तान्तरण गरुन्जेल चार लाख लागत पर्न गएको आयोजनाले जानकारी दिएको छ ।

कृषक समूहकहाँ आइपुगेको ग्रेडिङ मेसिन शनिबार कृषि सुपर जोन जुम्लाका प्रमुख विष्णुप्रसाद शर्माले स्विच दबाएर सञ्चालनमा ल्याएका हुन् । मेसिन सञ्चालनपश्चात् सुपर जोन जुम्ला प्रमुख शर्माले घर आँगनमै आएको ग्रेडिङ मेसिनले स्याउ कृषकलाई राम्रो सहयोग पुग्ने बताए ।

चार वाटको बत्तीले सञ्चालन हुन सक्ने यो मेसिनले सुपर ए, सुपर बी, ए, बी, सी र डीसम्म स्याउ ग्रेडिङ गर्ने बताइएको छ ।

मेसिन सञ्चालन तथा प्रदर्शन कार्यक्रममा सहभागी व्यक्तिहरुले उक्त कृषक समूहले स्थापना गरेको भवनलाई कृषि वस्तुमात्र नभई स्याउ सङ्कलन केन्द्रका रुपमा विकास गर्न सल्लाह दिएका थिए ।

ग्रेडिङका लागि समय छोटो लाग्ने र आफ्नै आँगनमा स्याउ विभिन्न श्रेणीमा विभाजन गर्न पाइने भएपछि त्यस क्षेत्रका किसान खुसी भएका छन् । रासस


क्लिकमान्डु