प्रतिबन्धित ५०० र १००० दरका नोट सटही बारे छलफल गर्न भारतले बोलायो नेपाली अधिकारीलाई




काठमाडौं । नेपालमा भएका ५०० र १००० दरका भारु नोट सटही बारे भारतसँग छलफल गर्न नेपाल सरकारले बनाएको टोलीलाई भारतले निम्ता गरेको छ ।

भारतले प्रतिबन्ध लगाएका सो दरका नोट नेपालमा पनि भएको र त्यसको बैधानिक ब्यवस्थापनको उपाय निकाल्न अर्थमन्त्रालयले गठन गरेको टोलीलाई भारत सरकारले छलफलको लागि बोलाएको अर्थमन्त्रालय स्रोतले जानकारी दियो ।

‘प्रतिबन्धित नोटको ब्यवस्थापन कसरी गर्ने भन्ने विषयमा भारतीय उच्च अधिकारीसँग छलफल गर्न हामीले गठन गरेको टोलीलाई छलफलको लागि भारतले बोलाएको छ,’ अर्थमन्त्रालय स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

अर्थमन्त्रालयले पुस १ गते नेपाल राष्ट्र बैंकका बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी संयोजकत्वको एक टोली गठन गरेको थियो । सो टोलीमा अर्थ मन्त्रालयका सहसचिव आनन्द ढकाल, राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगाना, परराष्ट्र मन्त्रालयका सहसचिव र एक विज्ञ सदस्यको रुपमा रहेका थिए ।

भारतले सो दरका नोट माथि प्रतिबन्ध लगाएपछि नेपालमा रहेका सो दरका नोटको ब्यवस्थापन कसरी गर्ने भन्ने विषयमा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेर समस्या समाधान गर्न आग्रह गरेका थिए ।

यस्तै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा तथा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालले पनि भारतीय गभर्नरलाई टेलिफोन गरेर समस्या समाधान गरिदिन आग्रह गरेका थिए ।

यस्तो मौखिक आग्रहलाई भारतीय उच्चअधिकारीहरुले मौखिक रुपमा सकारात्मक आश्वासन दिएपनि कुनै पहल गरेका थिएनन् । यस्तो अवस्थापछि अर्थमन्त्रालयले पुस १ गते कमिटी गठन गरेको थियो ।

सो कमिटीले भारतीय समकक्षीसँग समय मिलाइदिन भारतीय दुतावाससँग आग्रह गर्दा दुताबासले ‘हामी पहल गरिरहेका छौं, अहिले किन जानु पर्यो’ भन्ने जवाफ नेपाली अधिकारीलाई दिएका थिए ।

नेपालबाट छलफलको लागि टोली आउन लागेको जानकारी नेपालको परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा भारतीय विदेश मन्त्रालयलाई गराएको थियो । सोही पत्रको लिखित जवाफ दिदै भारतले छलफलको लागि आउन आग्रह गरेको हो ।

भारतीय पक्षले प्रतिबन्धित ५०० र १००० दरका भारु नोट सटही बारेमा छलफल गर्न नेपाली अधिकारीलाई बोलाएपछि सो दरका नोट साटिन सक्ने सम्भाबना रहेको तर अहिले नै यसै भन्न सकिने अवस्था नरहेको नेपाली अधिकारीहरुले बताएका छन् ।


क्लिकमान्डु