स्टक ब्रोकरद्वारा आठ स्थानसम्म शाखा खोल्न अनुमति माग
काठमाडौँ । स्टक ब्रोकरले राजधानी बाहिर शाखा खोल्न नेपाल स्टक एक्सचेञ्जमा अनुमति माग गरेका छन् ।
धितोपत्रको कारोबार गर्दै आएका कुल ५० सेयर ब्रोकरमध्ये २४ ले ‘तत्काल शाखा खाल्न पाऊँ’ भनी निवेदन दिएका हुन् । उनीहरुले ७० वटा शाखा खोल्न अनुमति माग गरेको स्टकका महाप्रबन्धक सीताराम थपलियाले जानकारी दिए ।
एउटै कम्पनीले आठ स्थानसम्म शाखा बिस्तारको प्रस्ताव गरेको छ । प्रस्ताव गरिएका स्थानमा भक्तपुर, विराटनगर, इटहरी, दमक, धरान, भरतपुर, बनेपा र बुटवललगायत स्थान रहेका छन् । त्यसरी माग गर्नेमा एबिसी सेक्युरिटीजले छ, अनलाइन सेक्युरिटीजले पाँच, मल्ल एन्ड मल्ल, नाशा, त्रिशक्ति, अक्सफोर्ड, श्वेता र एसियनले चार स्थानमा शाखा खोल्ने अनुमति मागेको महाप्रबन्धक थपलियाको भनाइ छ । यस्तै तीन स्थानमा शाखा स्थापनाको अनुमति माग गर्ने ब्रोकर कम्पनीको सङ्ख्या चार रहेको छ ।
सेयर बजारलाई राजधानी बाहिरका जनताको पनि पहुँचमा पुर्याउन ब्रोकरको शाखा विस्तार गर्नेबारे लामो समयदेखि चर्चा चल्दै आएको भए पनि प्रक्रिया भने अगाडि बढ्न सकेको थिएन । स्टकका अनुसार हालसम्म नौ ब्रोकर कम्पनीले राजधानी बाहिर एक/एक वटा शाखा विस्तार गरेका छन् । ४१ ब्रोकर कम्पनीले भने हालसम्म शाखा विस्तार गरेका थिएनन् ।
धितोपत्र बजार सुधार सम्बन्धमा गठित अध्ययन समितिले तत्काल ब्रोकरलाई शाखा विस्तारको अनुमति दिन सिफारिस गरेको छ । सोही आधारमा स्टकले नेपाल धितोपत्र बोर्डमा अनुरोधसमेत गरिसकेको छ । रासस