‘बैंकलाई ब्रोकर लाइसन्स’ अहिलेको कानुनले मिल्दैन, कुनै गृहकार्य भएको छैनः राष्ट्र बैंक



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले सेयर ब्रोकरको लाइसेन्स बैंकहरुलाई दिने विषयमा कुनै तयारी गरेको छैन ।

पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड पूँजी बजारको दायरा बढाउन बैंकहरुलाई पनि ब्रोकरको लाइसेन्स दिनुपर्ने गरी नीतिगत ब्यवस्था अगाडि बढाउन लागेको छ । तर राष्ट्र बैंकले स्वीकृति नदिएमा बैंकहरुले सेयर ब्रोकरको काम गर्न पाउने छैनन् ।

बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिने विषयमा कुनै नीतिगत ब्यवस्था वा आन्तरिक तयारी नभएको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

‘बैंकहरुले के गर्न पाउने र के गर्न नपाउने भन्ने सम्बन्धमा बाफियामा नै प्रष्ट ब्यवस्था छ, अहिलेको कानुनी ब्यवस्था अनुसार बैंकहरुले सेयर ब्रोकरको काम गर्न पाउदैनन्,’ राष्ट्र बैंकको नियमन विभागका प्रमुख समेत रहेका पौडेलले क्लिकमाण्डूसँग भने ।

बैंक तथा वित्तीय संस्था सम्बन्धि नीति नियम बनाउने र निर्देशनहरु जारी गर्ने नियमन विभागले नै हो ।

सहायक कम्पनी मार्फत बैंकहरुलाई सेयर ब्रोकरको काम दिन सकिने अवस्था भएपनि त्यससम्बन्धमा कुनै पनि प्रकारको नीतिगत वा आन्तरिक तयारी नभएको उनले प्रष्ट पारे ।

‘केही समय अगाडि धितोपत्र बोर्डले अनौपचारिक रुपमा छलफल गरेको थियो, त्यसपछि यो विषयमा औपचारिक अनौपचारिक कुनै पनि प्रकारको छलफल भएको छैन, नेप्से ब्यवस्थापनले समिति गठन गरेर अध्ययन गराएको छ, थप प्रक्रिया केही अगाडि बढेको अवस्था होइन,’ पौडेलले भने ।

बैंकहरुले अहिले सहायक कम्पनी मार्फत मर्चेन्ट बैंकिङको काम भने गरिरहका छन् । तर ब्रोकरको लाइसेन्स कसरी दिने भन्ने विषयमा अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड कम्पनी रजिष्टारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज जस्ता निकाय बसेर कुनै विकल्पको खोजी गर्न कार्य भने सुरु भएको छैन । यी निकायका बिचमा छलफल भएर गहन गृहकार्य नभइ प्रक्रिया अगाडि बढ्दैन ।

सेयर लगानीकर्ता भने नियामक निकायले नै बैंकलाई ब्रोकरको लाइसेन्स दिने भनेकोले सो ब्यवस्था कार्यान्वयन गर भनिएको बताउछन् । ‘धितोपत्र बोर्डले दिनुपर्छ भन्यो, नेप्सेले समिति बनाएर अध्ययन गर्यो, राज्यका निकायले नै गर्छु भनेको काम कार्यान्वयन गर भनेर हामीले दबाब दिएको हो, यो हाम्रो माग होइन,’ इन्भेष्टर फोरमका अध्यक्ष उत्तम अर्यालले भने ।


क्लिकमान्डु