नेपाल सरकारका सचिब र सहसचिबसहित १५ जनालाई अख्तियारले दियो सफाइ




काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुल सम्पत्ति कमाएको अभियोगमा उजुरी परेका युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहालसहित १५ जना कर्मचारीलाई प्रारम्भिक अनुसन्धानबाट उन्मुक्ति दिएको छ ।

मंगलबार बसेको आयोगको बैठकले उनीहरु विरुद्ध परेको उजुरी भरपर्दाे नभएको भन्दै प्रारम्भिक अनुसन्धाबाट उन्मुक्ति दिने निर्णय गरेको आयोग उच्च स्रोतले क्लिकमाण्डूलाई जानकारी दियो । दाहाल विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको भन्दै आयोगमा उजुरी परेको थियो ।

यस्तै नेपाल सरकारका सहसचिब केशबध्वज अधिकारीलाई पनि प्रारम्भिक अनुसन्धानबाट उन्मुक्ति दिने निर्णय गरिएको छ । उनी विरुद्ध पनि अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको थियो ।

यस्तै जलविद्युत लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारलाई पनि आयोगले सफाइ दिएको छ । उनी विरुद्ध सम्पत्ति विबरण नभरेको आरोप लागेको थियो ।

जस्तै जिल्ला बन अधिकृत ज्ञानेन्द्र मिश्रलाई पनि आयोगले सफाइ दिएको छ । उनी विरुद्ध पनि अकुत सम्पत्ति आर्जन गरेको आरोपसहित आयोगमा उजुरी परेको थियो । तर प्रारम्भिक अनुसन्धानले सो आरोप पुष्टी हुने नदेखाएपछि सफाइ दिएको आयोग स्रोतले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट सफाइ पाउने अन्य ब्यक्तिहरुमा नेपाल सरकारको विभिन्न निकायका विभिन्न तहमा कार्यरत कर्मचारी भएको आयोग स्रोतले जानकारी दिएको छ ।


क्लिकमान्डु