राज्यले नचिनेका देश चिनाउनेहरू



काठमाडौँ । राजधानीमा गत महिना आयोजित एक कार्यक्रममा चार धावकको एउटै गुनासो थियो, ‘के राज्यले पहुँचवालालाई मात्र पुरस्कृत गर्ने हो र ?’

ती चार थिए – पूर्ण तामाङ (३३), भीमबहादुर गुरुङ (३३), वेदबहादुर सुनुवार (२९) र तीर्थबहादुर तामाङ (२८) । हङकङमा हुन लागेको ‘अक्सफाम ट्रेल वाकर’ म्याराथनमा देशको प्रतिनिधित्व गर्दै जान लागेका उनीहरूमा खुसी त थियो नै, तर त्योभन्दा पनि बढी निराशा !

उनीहरूलाई हङकङका लागि बिदाइ गर्न आयोजित उक्त कार्यक्रममा निराशा पोख्ने क्रममा टोलीका कप्तानसमेत रहेका पूर्णले भन्नुभएको थियो, ‘यहाँ वास्तविक अल्ट्रा धावकलाई कसैले चिनेको हुँदैन । तर यस (अल्ट्रा धावक)का नाममा कसैलाई पहुँचकै आधार दिनहुँ सम्मान र पुरस्कार दिइने गरेको छ । वास्तविक धावक को हो राज्यले छुट्याओस् ।’

उनीहरूमा त्यो दिन यो निराशाबाहेक अरू सबै उत्साह मात्र थियो । विश्वभरका तीन दर्जनभन्दा बढी मुलुकका पाँच हजारभन्दा बढी धावकले प्रतिस्पर्धा गर्ने उक्त ट्रेल वाकर (अल्ट्रा दौड) जित्ने दाबी उनीहरू गरिरहेका थिए । उनीहरूका आँखामा त्यही झल्किन्थ्यो ।

आज साँच्चै उनीहरूले त्यो प्रमाणित गरे । यही मङ्सिर ३ गते भएको उक्त दौडको उपाधि उनीहरूले जिते । एक सय किलोमिटरको उक्त दौड उनीहरूले ११ घण्टा १ मिनेटमा पूरा गर्दै नयाँ कीर्तिमानसमेत बनाए ।

नेपाली सेनामा कार्यरत यी खेलाडीको यो पहिलो अन्तर्राष्ट्रिय जित भने होइन । पूर्ण सन् २०१३ मा हङ्कङमै भएको १०० किलोमिटरको ‘द नर्थ फेस’ म्याराथनमा प्रथम स्थान तथा यसै वर्ष चीनमा सम्पन्न समान दूरीको झिङ्गी म्याराथनमा द्वितीय भएका थिए ।

त्यस्तै देशभित्र सन् २०१५ मा भएको काठमाडौँ म्याराथनअन्तर्गत ४२ किमी दौड, सोही वर्ष भएको समान दूरीको आर्मी म्याराथन तथा सन् २०१४ मा भएको ५० किमीको अन्नपूर्ण म्याराथनमा उनी प्रथम भइसकेका छन् ।  ।

भीमबहादुरले यसै वर्ष चीनमा भएको ३० किमीको वल्र्ड सिरिज स्काई रनिङ र इटालीमा भएको स्काई रनिङ किमामा ‘रेकर्ड ब्रेक’ गर्दै प्रथम स्थान हासिल गर्नुभएको छ । त्यस्तै, हङकङमा सन् २०१३ र १४ मा भएका दुवै अक्सफाम ट्रेल वाकरका उपाधि उनकै पोल्टामा परे । ती दुवै १०० किलोमिटरका थिए ।

त्यसैगरी उहाँले देशभित्रै भएका सन् २०१३ को १०० किलोमिटरको अन्नपूर्ण म्याराथन, सन् २०१३ र २०१४ का दुवै एभरेष्ट म्याराथन (४२ किमी)का उपाधि तथा सन् २०१५ को द नर्थ फेस (८० किमी)को उपाधि जितिसकेका छन् ।

वेदबहादुरले सन् २०१५ मा हङकङमा भएको द नर्थ फेस (५० किमी), सोही वर्ष चीनमा सम्पन्न एसियन माउन्टेन (५० किमी), सन् २०१४ मा चीनमै भएको स्काई रनिङ (५० किमी)को उपाधि जित्नुभएको छ । त्यस्तै, देशभित्र सन् २०१३ को अन्तर्राष्ट्रिय पाथिभरा म्याराथन (५४ किमी) र २०११ को माउन्ट अन्नपूर्ण म्याराथन (४२ किमी)मा प्रथम छन् ।

तीर्थबहादुरले सन् २०१४ मा हङकङमा भएको भिवराम हङ्कङ (१०० किमी), २०१५ मा चीनमा भएको डेलसिटी चाइना (१०० किमी) तथा यसै वर्ष इटाली–स्वीट्जरल्याण्डमा भएको युटिएमआर (११८ किमी)को उपाधि जित्नुभएको छ । त्यस्तै, देशभित्र सन् २०११ को अन्नपूर्ण म्याराथन (४२ किमी), यसै वर्षको स्तुपा टु स्टुपा (५० किमी), एभरेष्ट अल्ट्रा (६० किमी) जस्ता प्रतियोगिता उहाँले जितिसक्नुभएको छ । यीबाहेक पनि चारै धावकले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा द्वितीय तथा तृतीय स्थान हासिल गरिसकेका छन् ।

यी उपाधिका फेहरिस्त जति प्रस्तुत गरिए पनि त्यसबारे राज्य वेखबर जस्तै छ । फुटबल क्रिकेट जस्ता एक÷दुई खेलका खेलाडीलाई मात्र राज्यले चिन्ने गरेको उनीहरूको गुनासो छ । भीमबहादुरले भन्नुभयो, ‘फुटबल र क्रिकेटलाई मात्र सम्मान गर्दा हामीलाई चाहीँ किन गाह्रो ? खेल्दा हामीले बोक्ने झन्डा एउटै हो । हामीले पनि त देशकै लागि खेलेका हौं नि !’

वेदबहादुरले थप्नुभयो – ‘दुई किलोमिटर पनि सही तरिकाले नदौडिएकालाई अल्ट्रा धावक भनिन्छ । जसको पहुँच छ, जो नेताको पछि लाग्छ उ वास्तविक धावक नभएपनि उसैलाई सम्मान छ ।’

केही निजी क्षेत्रबाट उनीहरूलाई सम्मान भने भयो । यसै हप्ता मात्र चौधरी ग्रुपले ‘ब्रान्ड एम्बेस्डर’ बनाउने निर्णय ग¥यो । ‘वि विल राइज फाउन्डेसन’ले जनही रु १० हजार नगदसहित सम्मान गरेको हो ।

राज्यको उदासीनताका बीच निजी संस्थाले आफूहरूको मेहनतको कदर गरिदिएकामा उनीहरू थोरै खुसी भएका छन् । टोलीका कप्तान पूर्णले धाविका मीरा राईले पनि अल्ट्रा दौडमा विश्व विजय प्राप्त गरेको प्रसङ्ग कोट्याउँदै यस खेलले नेपालका लागि सम्भावनाको ढोका खोलेको बताए ।

ओलम्पिकमा समेत राख्ने तयारीमा रहेको यो खेलको नेपालमा आधिकारिक सङ्घ खोलिनुपर्ने खेलाडीहरूको तर्क छ । तीर्थबहादुरले थपे – ‘यो खेलले अहिलेसम्म देखाएको सम्भावना हेर्दा हामीले ओलम्पिकमा पदक जिल्ने सम्भावना छ तर यसबारे सम्बन्धित निकाय बेखवर छ । अहिलेसम्म सङ्घ खोल्नेबारे यहाँ केही पहल भएको छैन ।’

‘अब पनि औपचारिक रूपमा सङ्घ खोलेर अघि नबढ्ने हो भने नयाँ खेलाडी कसरी उत्पादन हुन्छन् र ?,’ वेदबहादुरको भनाइ थियो । अहिले नेपालमा सीमित मात्र अल्ट्रा धावक रहेकाले यसको भविष्यका लागि नयाँ खेलाडी आउनुपर्ने तर्क उनको थियो ।

नेपालमा अल्ट्रा म्याराथनका दुई विधा छन् । पचास किलोमिटर तलको स्काई रेस र ५० देखि १६८ किमीको अल्ट्रा रन । यी दुवै विधाका पुरुष/महिला गरी जम्मा १०/१२ जना मात्र वास्तविक अल्ट्रा धावक रहेको खेलाडीहरूको भनाइ छ ।

यी खेलाडी हङ्कङमा जतिपटक दौडन गए त्यहाँ बस्दैआएका नेपालीको उत्साह र सहयोग पाए । उनीहरूलाई लाग्नेको खर्चमा समेत उनीहरूले बेहोरिदिए । त्यहाँको एचके नेप्लिज ट्रायल एशोसिएसनमार्फत सहयोग भइराखेको छ ।

यो सफलतामा ट्रायल रनिङ नेपाल युकेका रिचर्ड बुल, एभरेष्ट तेन्जिङ–हिलारी एभरेष्ट म्याराथनका अभियन्ता विक्रम पाँडे, वरिष्ठ धावक वैकुण्ठ मानन्धर, प्रशिक्षक पुष्पराज ओझा समेतको सहयोग रहेको उनीहरुको भनाइ छ । पूर्णले भने, ‘यदि एभरेष्ट म्याराथनको अवधारणा नआएको भए हामी अल्ट्रा धावक हुने थिएनौं ।

उनीहरूको सफलतामा सेनाको पनि हात छ । उनीहरू सेनाले हरेक वर्ष गर्ने म्याराथनमा खारिएर निस्किएका हुन्भन्दा फरक नपर्ला । यसलाई पुष्टि गर्दै तीर्थले थपे, ‘साँच्चै भन्दा हामीले सेनामा लागेपछि यो अवसर पाएका हौं । सेनाले तालिमदेखि लिएर बिदाको अवसर सजिलै मिलाइदिने गरेको छ ।’

एभरेष्ट म्याराथनका अभियन्ता पाँडे नेपाल पहाडी मुलुक भएकाले अल्ट्रा म्याराथनको सम्भावना बढी भएको तर्क गर्नुहुन्छ । उनी भन्छन्, ‘नेपालमा जति पनि धावक छन्, ती सबै ग्रामीण भूभागबाट आएका सामान्य परिवारका सदस्य छन् । तसर्थ यो खेल गरिबका छोरीछोरीका लागि प्रगतिको बाटोमा हिँड्ने अवसर पनि हो ।’

अक्सफाम ट्रेल वाकर’का विजेताहरू पूर्ण धादिङ, भीमबहादुर गोरखा, वेदबहादुर रामेछाप र तीर्थबहादुर भोजपुरको ग्रामीण भूभागका सामान्य परिवारका सदस्य हुन् भन्ने तथ्यले यसको पुष्टि पनि गर्छ । रासस


क्लिकमान्डु