भूकम्प प्रभावित २१ जिल्लाका दुई हजार आठ सय युवालाई सीपमूलक तालिम



punernirman
काठमाडौँ । घरेलु तथा साना उद्योग विकास समितिले रु सात करोड ८९ लाख लागतमा २१ जिल्लामा सीपमूलक तालिम दिने भएको छ । समितिले दिने यस्तो तालिम दुई महिनाको हुनेछ ।

गत वर्ष वैशाख १२ गतेको भूकम्पले पुयाएको क्षतिको पुनःनिर्माण गर्न समितिले भूकम्प प्रभावित २१ जिल्लाका दुई हजार आठ सय युवालाई तालिम दिन लागेको हो । समितिले गत वर्ष भूकम्प प्रभावित १६ जिल्लामा विभिन्न सीप विकास तालिम सञ्चालन गरी एक हजार नौ सय ३३ जनालाई प्रशिक्षित गराएको समितिका सूचना अधिकारी देवप्रसाद गुरागाईंले जानकारी दिए ।
उनले भने, ‘यस वर्ष डकर्मी, सिकर्मी, हाउस वायरिङ र प्लम्बिङ र कपाल काट्ने तालिम दिएका हौँ ।’ समितिले प्रत्येक जिल्लामा एक सयदेखि दुई सयको संख्यामा तालिम दिँदै आएको छ भने भूकम्पबाट क्षति भएका घर, उद्योग, विद्यालय, मठमन्दिर निर्माण र पुनः निर्माणलाई अभियानकै रुपमा निरन्तर अगाडि बढाउँदै आएको छ ।

निर्माण भएका भूकम्पप्रतिरोधी भवनमध्ये लमजुङमा मिश्र सेवा समाजको आधुनिक पक्की भवन, नुवाकोटको थानसिंहमा गाविसको भवन, नुवाकोटको ककनीमा विद्यालय भवन, रसुवामा तामाङ भवन, नुवाकोटको विदुरमा घरेलु तथा साना उद्योग विकास समितिको शाखा कार्यालय रहेका छन् ।

समितिले विपद्को समयमा गाउँघरमै गएर तालिम दिँदा सीप मात्र नदिएर रोजगारीको अवसरसमेत प्रदान गरेको छ । समितिले भूकम्प अतिप्रभावित गुल्मी, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी, अर्घाखाँची, भोजपुर, सङ्खुवासभा, धनकुटा, नुवाकोट, रसुवा, धादिङ, गोरखा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र लमजुङमा तालिम दिएको हो ।


क्लिकमान्डु