कुलमानको प्रश्नः कस्ले भन्यो मंसिरदेखि लोडसेडिङ हुन्छ भनेर ?



kulman-ghising
२ मंसिर, काठमाडौं । तिहारअघिको हप्तादेखि काठमाडौं उपत्यका पूर्णरुपमा लोडसेडिङमुक्त छ । टान्सफमर पड्किएका कारण विभिन्न स्थानहरुमा भने अझै पनि लोडसेडि भइरहेको छ ।

देशभर लोडसेडिङ अन्त्य गर्ने सोचका साथ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पाइलट प्रोजेक्टकारुपमा उपत्यकाबाट लोडसेडिङ हटाएका हुन् ।

‘हामी पहिलो चरणमा काठमाडौं उपत्यकामा कसरी लोडसेडिङ हुन नदिने भनेर काम गरिरहेका छौं,’ घिसिङले क्लिकमाण्डूसँग भने, ‘महिना दिन भयो उपत्यकामा लोडसेडिङ भएको छैन । जसले हामीलाई आत्मबल बढेको छ ।’

घिसिङले जवाफ दिए,–‘कस्ले भन्यो मंसिरदेखि लोडसेडिङ हुन्छ भनेर । मैले त अहिलेसम्म भनेको छैन ।’

उपलब्ध विद्युतको उचित व्यवस्थापन गरी उपत्यकाको विद्युत संकट हटाइएको उनले बताए । तर, अझैपनि कतिपयले भने मंसिर दोस्रो सातादेखि लोडसेडिङ हुने तर्क राख्दै आएका छन् ।

विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक मुकेश काफ्ले भने मंसिर दोस्रो सातादेखि पानीको सतह कम हुने हुँदा विद्युत उत्पादन घटी लोडसेडिङ गर्नैपर्ने बाध्यात्मक अवस्था आउने बताउँछन् ।

‘पहिला पनि मंसिरसम्म खासै लोडसेडिङ हुँदैन थियो,’ काफ्लेले भने, ‘मंसिर दोस्रो सातादेखि उत्पादन नै अत्यन्तै कम हुन्छ र लोडसेडिङ गर्नैपर्ने अवस्था आउँछ ।’

तर, अहिलेका कार्यकारी निर्देशक घिसिङ भने यो तर्कसँग पूर्णरुपमा असहमत छन् ।

मंसिर दोस्रा सातादेखि लोडसेडिङ गर्नैपर्ने हुन्छ भन्ने सुनिन्छ नि ? भन्ने क्लिकमाण्डूको प्रश्नमा घिसिङले यस्तो जवाफ दिए,–‘कस्ले भन्यो मंसिरदेखि लोडसेडिङ हुन्छ भनेर । मैले त अहिलेसम्म भनेको छैन ।’

लोडसेडिङ अन्त्य गर्नु आफ्नो एकसूत्रीय एजेण्डका भएको उनले बताए । ‘लोडसेडिङ अन्त्य गर्न जस्तोसुकै मुल्य चुकाउन पनि तयार छु,’ उनले भने, ‘सकेसम्म यो हिउँदमा लोडसेडिङ हुन दिन्न । भइहाल्यो भने पनि केही ठाउँमा केही घन्टामात्रै हुने छ ।’

साँझको पिक आवर बाहेक दैनिक २२ घन्टा ७÷८ सय मेगावाट विजुली उत्पादन हुने र पिक आवरमा भने १४÷५ सय मेगावाटसम्म विजुलीको माग हुने उनले बताए । पिक आवरमा उद्योगमा विजुली नदिँदा १०००÷११०० मेगावाट विजुलीले पुग्ने उनको भनाई छ ।

‘पिक हावरमा पिकिङ प्रोजेक्टहरु चलाइने छ, डिजेल प्लान्ट चलाइने छ, भारतबाट हुने आयात पनि बढाइने छ,’ घिसिङले भने, ‘जसकारण लोडसेडिङ हुँदैन भन्ने मेरो विश्वास छ ।’


क्लिकमान्डु