मोबाइल एप्समै हेर्नुस् भाग्य र भविष्य



jokhana

काठमाडौं । पात्रो र कुन्डली पल्टाएर भाग्यफल हेर्ने चलन अब हराउँदै गएको छ । आफ्नो हातको मोबाइलमा एप्स खोलेर आफ्नो भविष्यफल आफै हेर्न सक्नुहुन्छ तपाई ।

एन्ड्रोइड मोबाइलाका प्रयोगकर्तामाझ नेपाली एप ‘जोखाना’ लोकप्रिय हुँदै गएको छ । तीन महिना अघि मात्र संचालनमा ल्याइएको यो एप डाउनलोड गर्नेको संख्या आठ हजार नाघिसकेको छ ।

ज्योतिषाचार्य डा. सुनिल सिटौलाले यो एप्स सञ्चालनमा ल्याएका हुन् । प्राचीन हनुमान ज्योतिष सकुन प्रश्नावली एवम भृगु संहिताको आधारबाट जोखानाको फलादेश एपमा राखिएको छ ।

यसमा जोखानाको साथै वाषिर्क, दैनिक, एवम् मासिक राशिफल हेर्न सकिन्छ । यो चन्द्रमाको राशी भ्रमणको आधारबाट तयार पारिएको ज्योतिष सिटौला बताउँछन् ।

एपमा रुद्रयामक तन्त्रमा बताइएको मुहुर्त राखिएको छ । जसमा हरेक दिनको शुभ अशुभ बेला हेर्न सकिन्छ । यस मुहुर्तलाई आधार मान्दा ज्योतिषका विषयहरु तिथी, नक्षत्र जुराइरहनु पर्दैन ।

भावी वा भविष्य जान्न, ग्रहदशा छुट्टाउन, आˆनो राशी, नक्षत्र र वर्तमान चल्दा दशाहरु, महादशा, अन्तरदशा आफैंले हेर्न मिल्ने एप तयार पारिएको डा. सिटौलाले जानकारी दिए ।

द्रिक गणितमा आधारित ज्योतिष पञ्चाङ्ग, तिथि, नक्षत्र, योग, करण जुनसुकै मितिको पनि हेर्न सकिन्छ । आफनो भाग्य, भविष्य, ग्रहदशा, शुभ-अशुभ सम्पूर्ण विषय प्रत्यक्ष ज्योतिषलाई सोध्न सकिने फिचर एपमा उपलब्ध छ ।

एपमा मिति रुपान्तरण, नेपालमा प्रचलित चाडपर्व, राशी-राशीबीचको सम्बन्ध, विभिन्न शुभ साइतहरु राखिएको छ । तत्कालका लागि यो एप एन्ड्रोइडमा मात्र उपलब्ध छ । तर, भविष्यमा आइओएसमा पनि उपलब्ध गराइने सञ्चालक डा. सिटौलाले जानकारी दिए ।

जोखना बाहेक पनि नेपाली राशीफलका लागि भने थुप्रै एप्सहरू उपलब्ध छन् ।


क्लिकमान्डु