कसरी बनाउने भुकम्प प्रतिरोधी घर? जानकारी अब मोबाइल एप्समा



image027काठमाडौं । अमेरिकी राजदूतावास युवा परिषद्ले भूकम्पप्रतिरोधी घरनिर्माणबारे जानकारी दिन मोबाइल एप्स र वेभसाइट सञ्चालनमा ल्याएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले मोबाइल एप्स इकन्ट्रक्सन र वेभसाइट इकन्ट्रक्सन डटकम डट ओराजीको बुधबार एक कार्यक्रमबीच शुभारम्भ गर्नुभयो ।

उहाँले समाज परिवर्तनको सवालमा सञ्चारका साधनले महत्वपूर्ण भूमिका खेल्नसक्ने भन्दै पुनःनिर्माणसम्बन्धी मोबाइल एप्स र वेभसाइटले सर्वसाधारणलाई पुनःनिर्माण र भूकम्पप्रतिरोधी घर बनाउन जानकारी दिने बताउनुभयो ।

सञ्चार प्रविधिको सवालमा खासै उत्साहित हुनसक्ने अवस्था नरहेको भन्दै उहाँले अब प्रविधिको क्षेत्रमा मोबाइल एप्स र वेभसाइटले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

घरमै बसेर मानिसले आफ्नो पुनःनिर्माणको काम गर्नसक्ने गरी तयार पारिएको मोबाइल एप्स र वेभसाइटले समाजको तल्लो तहका सर्वधारणमा सकारात्मक परिवर्तन ल्याउन विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा अमेरिकी दूतावासकी प्रवक्ता इनेकि स्टेनहोमले अमेरिकी दूतावासले समाज परिवर्तनको सवालमा विभिन्न काम गरिरहेको भन्दै आगामी दिनमा दूतावासले नेपाल सरकार र युवासँगको सहकार्यमा काम गर्ने जानकारी गराउनुभयो ।

एप्स र वेभसाइटमा सर्वसाधारणलाई भूकम्प प्रतिरोधी घर निर्माण गर्दा ध्यान दिनुपर्ने कुराको जानकारीको बारेमा राखिएको परिषद्का सदस्य सरोज पौडेलले बताउनुभयो ।

उहाँका अनुसार माटोको घर, ढुङ्गाको घर र आरसिसी घर निर्माण गर्दा कसरी भूकम्प प्रतिरोधि घर बन्न सक्छन् भन्ने कुरा मोबाइल एप्स र वेभसाइटमा राखिएको छ ।

यसैगरी मोबाइल एप्स र वेभसाइटमा क्यालकुलेटर पनि राखिएको छ । पौडेलका अनुसार उक्त क्यालकुलेटरमा आफूले बनाउन घरको लम्बाइ र चौडाई लेखेपछि घरमा चाइने इँट्टा, बालुवा सिमेन्ट र रडसमेत कति मात्रामा चाहिन्छ र त्यसको अनुमानित मूल्य (हालको बजार मूल्य अनुसार) देखाउने गर्दछ ।

उहाँले एप्स र वेभसाइटमा घर बनाउने इन्जिनियर, ठेकेदारका साथै पुनःनिर्माण र विपद् व्यवस्थापन बारेको जानकारी समेत राखिएको जानकारी गराउनुभयो । एप्स र वेभसाइट परिषद्ले निर्माण गरेको हो ।

एप्सको लिंक: https://play.google.com/store/apps/details?id=np.com.spiker.earthquakeapp

 


क्लिकमान्डु