डिजिटल हाजिरीको चलन बढ्दै, स्कुल-कलेज बंक गर्ने घटे



Digital-attendent_01a
नीजि तथा सरकारी कार्यालय मात्र होइन स्कुल कलेजतिर पनि डिजिटल हाजिरी मेसिन प्रभावकारी बन्दै गैरहेको छ । स्कुल तथा कलेजको कक्षा बंक गर्ने विद्यार्थीहरुलाई यो डिजिटल निगरानीले अनुशासित समेत बनाउँदै लगेको छ ।

अहिले कलेजहरुले ‘स्टुडेन्ट एटेन्डेन्स सफ्टवेयर’ को धेरै प्रयोग गर्न थालेका छन् । रोलक्रम अनुसार कक्षामा शिक्षकले चर्को स्वरमा हाजिरी उठाइरहनु पर्ने झन्झटबाट यस्तो प्रविधिले शिक्षकहरुलाई मुक्ति दिलाएको छ । यतिमात्र होइन विद्यार्थीको सम्पूर्ण प्रगती विवरण सोही सफ्टवेयरमा रहेको डाटा मार्फत हेर्न समेत पाइन्छ । यस्तो प्रविधि राजधानीका चल्तिका कलेजहरुले प्रयोग गर्न थालिसकेका छन् ।

‘स्टुडेन्ट एटेन्डेन्स सफ्टवेयर’ इन्टरनेटको सहायताले प्रयोग गर्न सकिन्छ । यसको आफ्नै डिभाइस हुन्छ र वेभ मार्फत पनि नियन्त्रण र अनुगमन गर्न सकिन्छ ।  यसको सहायताले विद्यार्थीको आवतजावत प्रष्टसँग अनुगमन गर्न सकिन्छ । घरमै बसेर पनि अभिभावकले आफ्ना छोराछोरी कलेज गए नगएको थाहा पाउन सक्नेछन् ।

विद्यार्थी कलेज प्रवेश गरेको समय र निस्केको समय यसमा प्रष्टसँग हेर्न सकिन्छ । अनलाइनबाट यसको अनुगमन गर्न यसको सफ्टवेयरबाट छुट्टै आइडी लिनु पर्छ ।

फिङगर रिडर (अौंठा छापले हाजिर गर्ने) र फेस रिडर (अनुहार हेरेर)  एटेन्डेन्समा रेकर्ड राख्ने तरिका पनि फरक फरक छन् । मेसिनमा फिङगरले ल्याप्चे लगाए जस्तै प्रेस गर्नुपर्छ भने फेसका लागि मेसिन अगाडीको स्क्रिनमा उभिएर अनुहार देखाउनु पर्छ । मेसिनले अनुहारको स्क्यानिङ गर्छ र रेकर्ड राख्छ ।

बिभिन्न क्षमताका  डिजिटल मेसिन बजारमा उपलब्ध छन् । डिभाइसको स्टोरेज र प्रोसेसिङ क्षमता कति छ त्यही अनुसार उपस्थितिको हाजिरी रेकर्ड राख्न सकिन्छ । काठमाडौंमा यस्ता हाजिरी मेसिन कम्पनीहरु धेरै छन् । यस्ता कम्पनीले माग अनुसार विभिन्न क्षमता डिभाइसहरु बेच्ने गरेका छन् ।

कसरी काम गर्छ मेसिनले?

सुरूमा एकपटक  औंलाको छापको नमुना वा अनुहारको नमुना खिचेर डिभाइसको डेटाबेसमा संग्रहित गर्नु पर्छ । यस्ता नमुना अनुसार नाम, पद जस्ता विवरण डेटाबेसमा  इन्ट्री गरिएका हुन्छन् ।  त्यसपछिको हरेक पटक डिभाइसमा औला वा अनुहार देखाएपछि यसले आफुसँग  भएको पुरानो नमुनासँग तुलना गर्दछ ।  सोही अनुसार नमुना मिल्ने व्यक्तिको आएको समय र गएको समय डेटाबेसमा सुरक्षित गर्दै जान्छ ।

कति लाग्छ लागत?

औठा छापले हाजिर गर्ने भन्दा अनुहार हेरेर हाजिर गर्ने मेसिन केही महंगा छन् । फेस रिडर डिभाइसको क्षमता अनुसार ४५ हजार रुपैयाँ भन्दा माथि पर्छ । फिङगरका लागि २० हजार रुपैयाँ भन्दा माथिका डिभाइस मेसिनहरुको बजारमा पाइन्छन् । यस्ता मेसिनहरुले कति जना सम्मले हाजिर गर्ने भन्ने क्षमताको निर्धारण गर्छ । स्टोरेज, प्रोसेसिङ, डाटा सेयरिङ जस्ता  क्षमता र विशेषता अनुसार मूल्य फरक पर्न सक्छ ।


क्लिकमान्डु