नेपाल वायू सेवा निगमले चार वटा र्याम्प बस किन्ने



काठमाडौं । नेपाल वायुसेवा निगमले यात्रु तथा क्रु मेम्बर बोक्नका लागि चार वटा र्याम्प बस खरीद गर्ने भएको छ । निगमका अनुसार खरीदका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

बसहरु आएपछि बिजनेस क्लास र क्रुहरुले छुट्टै बसको सुविधा पाउनेछन् भने अरु यात्रुहरुलाई पनि थप सुविधा मिल्ने निगमले जानकारी दिएको छ । साथै यही साताभित्र विशिष्ट तथा अति विशिष्ट व्यक्तिहरुको लागि नयाँ भीआईपी र्याम्प कोच सञ्चालनमा ल्याउने निगमले जानकारी ादिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवालाई थप स्तरीय प्रदान गर्नका लागि निगमले उक्त उपाय अवलम्बन गरेको हो ।

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई प्रदान गर्दै आएको भूमिस्थ सेवालाई सुरक्षित र गुणस्तरीय छ भनी आईएटीएले आईएसएजिओ प्रमाण पत्र समेत प्रदान गरिसकेको छ ।

भूमिस्थ सेवामा प्रयोग भएका तर अहिले पुराना भै उपयोगमा आउन नसक्ने उपकरणहरुलाई यसै थन्क्याएर राखिछाड्नु सट्टा लिलाम प्रक्रियाद्वारा विस्थापन गरिएको छ ।

यसरी लिलामी प्रक्रियाबाट विस्थापन गर्दा निगमलाई ३२ लाख ६४ हजार ४४४ रुपैयाँ आम्दानी भएको छ ।

पुरानालाई विस्थापित गर्दै नयाँ प्रविधियुक्त थप उपकरण जस्तै टोबार लेस ट्रयाक्टर, कन्टेनर डली, प्यालेट डली, इलेक्ट्रिक फर्कलिफ्ट, ग्राउण्ड पावर युनिट आदि खरिद गरिने कार्य निकै अघि बढिसकेको अवस्था छ ।

सम्पूर्ण उपकरणहरु आएटा मापदण्ड पुरा गरेका हुनाले सेवा पनि चुस्त र दुरुस्त हुनेछ । निगमको भूमिस्थ सेवाको अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले प्रसंशा गरेका छन् ।

सिता लोड कन्ट्रोल सिस्टम अन्र्तगत यात्रुहरुको व्यागेज ट्रयाकिङ्ग प्रणालीको स्तरोन्नति गर्ने काम भएको छ । यसबाट निगमको उडानमा यात्रा गर्ने यात्रुहरुको व्यागेज थप व्यवस्थित किसिमले ह्याण्डलिङ गर्न मद्दत पुगेको निगमको भनाइ छ ।


क्लिकमान्डु