इक्यानको टोली लन्डन प्रस्थान, उच्च शिक्षाबारे बृहत छलफल गरिने
काठमाडौं । ब्रिटिस काउन्सिलको आयोजनामा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को टोली मंगलबार बेलायत प्रस्थान गर्ने भएको छ । उच्च शिक्षाका लागि बेलायतका विभिन्न विश्वविद्यालय तथा कलेजमा जान चाहने विद्यार्थीहरुका लागि टोलीले बृहत अध्ययन गर्नेछ ।
मंगलबार त्यसतर्फ प्रस्थान गरेको टोली २५ जुलाईमा काठमाडौं फर्कने छ । इक्यानका अनुसार १८ सदस्यीय टोलीले त्यहाँ रहँदा ब्रिटिस काउन्सिल, विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरुसँग बृहत छलफल गर्नेछ ।
टोलीमा इक्यानका अध्यक्ष विष्णुहरि पाण्डे, पूर्व अध्यक्ष परिषदका सभापति राजेन्द्र बराल, महासचिव शेषराज भट्टराई छन् । त्यस्तै, महेशबाबु तिमिल्सिना, निरञ्जन पन्त, देवी भट्टराइ, सपना राजभण्डारी तथा निरूपमा महर्जनलगायतका प्रतिनिधी छन् ।
उनीहरुले त्यहाँ रहँदा नेपाली विद्यार्थीलाई बेलायतमा अध्ययन गर्नका लागि कसरी सहज हुन्छ भन्ने विषयमा विश्वविद्यालय र सम्बन्धित निकायहरुसँग छलफल तथा बहस गर्नेछन् ।