नेपालमा लगानीको सम्भावनाबारे ओमानमा अन्तरक्रिया कार्यक्रम
काठमाडौं । ओमानमा ‘नेपालमा लगानीको सम्भावना’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गत जुलाई १ मा नेपाली दुतावासद्वारा डब्ल्यू मस्कट होटलमा आयोजित कार्यक्रममा काठमाडौंमा आयोजित ‘नेपाल इन्भेष्टमेन्ट समिट २०१९’ मा नेपालका सम्माननीय प्रधानमन्त्रीलगायत अन्य देशका प्रमुख व्यक्तिहरुद्वारा सम्बोधित प्रमुख विषयहरुलाई भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।
ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले सम्बृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्नको लागि नेपालमा लगानी आवश्यक रहेको बताइन् ।
उनले कृषि, उर्जा, आधारभूत संरचना, शिक्षा, औद्योगिक संरचना, सहरी आधारभूत संरचना, यातायातलगायतका क्षेत्रमा लगानी आवश्यक रहेको बताइन् ।
राजदुत ढकालले नेपालमा लगानी अनुकुल वातावरण बनाउन सरकारद्वारा विभिन्न सरकारी र संस्थागत नीतिमा सुधार गरेको बताएकी थिइन् । उनले नेपालको सामाजिक–आर्थिक विकासको लागि विश्वका सहयोगी हातहरुलाई सहयोग गर्न आग्रह समेत गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि उद्योग मन्त्रालयका सचिव अहमद बिन हसन अलदिव, दक्षिण एसिया विभागका प्रमुख पराराष्ट्र मन्त्रालयका महामहिम हिलाल मारोन अल मामारी, अर्थतन्त्र क्षेत्रका प्रमुख तथा पराराष्ट्र मन्त्रालयका महामहिम डा. याह्या अब्दुल्लाह अल फन्नाह, ओमान चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका सिइओ अब्दुल अधैम अल बाहराइनी सहभागी थिए ।
विभिन्न देशका राजदुत, मिसन प्रमुख, विभिन्न एम्बेसीका आर्थिक तथा व्यापार सल्लाहकार, इन्भेस्टमेन्ट प्रोमोशन तथा निर्यात विकासको लागि सार्वजनिक प्राधिकरण(आइटिएचआरएए) ओमान र स्टेट जनरल रिजर्भ कोषका विशेष प्रतिनिधिहरु सहित करिब ५५ जनाको कार्यक्रममा सहभागिता थियो ।