नेपाल एयरलायन्स दोब्बर फाइदामा, उडान संख्या थपियो यात्रु पनि बढे



काठमाडौं । नेपाल एयरलायन्सले गत वर्षको तुलनामा यस वर्ष ९६.०२ प्रतिशतले आम्दानी गरेको छ ।

नेपाल वायू सेवा निगमको ६१ औं वार्षिक सभामा बोल्दै अध्यक्ष मदन खरेलले आयतर्फ उल्लेख्य वृद्धि भएको जानकारी दिए ।

उनका अनुसार गत वर्ष अन्तर्राष्ट्रिय उडानबाट २०७५को साउनदेखि चैत महिनासम्ममा कुल ७ अर्ब ५४ करोड १० लाख ३८ हजार ११० रुपैयाँ आम्दानी गरेको छ ।

निगमले अघिल्लो वर्षको सोही अवधिमा जम्मा ३ अर्ब ८४ करोड ७१ लाख १५ हजार १५८ रुपैयाँ आम्दानी गरेको थियो ।

खरेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष उडान संख्या पनि बढेको छ । गत वर्ष २६७६ वटा उडान भएकोमा यस वर्ष ८५९ वटा थप उडान भइ उडान संख्या ३५३५ पुगेको छ । त्यस्तै, यात्रु संख्या पनि ६३.५ प्रतिशतले बढेका छन् ।

गत वर्ष ३ लाख ४८ हजार ५२८ यात्रू बोकेकोमा एयरलायन्सले यस वर्ष ५ लाख ६९ हजार ७३४ यात्रु बोकेको थियो ।

त्यस्तै, आन्तरिकतर्फ पनि सिट फेक्टरमा ७६ प्रतिशतबाट वृद्धि भइ ७८ पुगेको छ ।


क्लिकमान्डु