बैंकका महंगा १० सीइओले लगानीकर्तालाई प्रतिफल चैं कति दिन्छन् ? यस्तो छ नालीबेली



काठमाडौं । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुले वार्षिक करोडभन्दा बढी तलब/भत्ता खान्छन् । केही दिनअघि क्लिकमाण्डूले नेपालको बैंकिङ क्षेत्रका १० महंगा सीइओहरुको बारेमा समाचार सम्प्रेशण गरेको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाँडे सबैभन्दा बढी तलबभत्ता खान्छन् । पाँडेले गत वर्ष बैंकबाट २ करोड ६५ लाख १० हजार रुपैयाँ बुझेका थिए ।

बैंकका सीइओको कमाइ कति हुन्छ ? यी हुन् नेपालकै महंगा १० सीइओ

तर, यतिधेरै तलबभत्ता लिने सीइओले लगानीकर्तालाई प्रतिफलचाहीँ कति दिन्छन् त भनेर हामीले हेरेका थियौं । नगद लाभांश र बोनस सेयरभन्दा पनि आरओइ महत्वपूर्ण आरओई ।

महंगा सीइओको सूचिमा पहिलो नम्बरमा परेका सीइओ पाँडे लगानीकर्ताको सम्पत्तिमाथि प्रतिफल (आरओइ) दिनमा भने पहिलो नम्बरमा छैनन् ।


२८ वाणिज्यसँग तुलना गर्दा आरओइमा इन्भेष्टमेन्ट बैंक १०औं नम्बरमा छ भने महंगा १० सीइओसँग तुलना गर्दा पाँडे छैठौं नम्बरमा छन् । पाँडे सीइओ रहेको इन्भेष्टमेन्ट बैंकको गत वर्षको आरओइ १६.९० प्रतिशत छ ।

लगानीकर्ताको तर्फबाट हेर्दा सीइओ खानदानी वर्गको हो कि हैन भन्दा पनि त्यो सीइओले आफ्नो सम्पत्तिमाथि कस्तो प्रतिफल दियो भन्ने कुरा महत्वपूर्ण हुन्छ । प्रतिफल पाउने आशमा नै लगानीकर्ताले लगानी गरेका हुन्छन् ।

निक्षेप बढाउनमा जनता र माछापुच्छ्रे फस्ट, इन्भेष्टमेन्ट बैंक लास्ट, प्राइमको घट्यो, अरुको के भयो ? (सूचिसहित)

एकपछि अर्को सूचकांकमा इन्भेष्टमेन्ट बैंकले सन्तोषजनक प्रगति गर्न नसकेपछि सञ्चालक समितिको बैठकमा सञ्चालकहरुले सीइओ पाँडेको पफरमेन्सप्रति पटक/पटक प्रश्न उठाउँदै आएका छन् । जसले पाँडेलाई तीब्र दबाब परेको छ । आफूमाथि सञ्चालक समितिले दबाब दिएपछि पाँडेले कर्मचारीहरुलाई पेल्न थालेका छन् ।

‘पहिले त हाम्रो सीइओ निकै मिजासिलो र सरल हुनुहुन्थ्यो, अचेल धेरै कडा हुनुभएको छ,’ बैंकका एक उच्च तहका कर्मचारीले क्लिकमाण्डूसँग भने, ‘पफरमेन्स गतिलो नभएको भन्दै सीइओलाई सञ्चालक समितिले पेलेपछि उहाँले कर्मचारी पेल्न थाल्नुभएको छ ।’

स्टाफ मिटिङमा NIC Asia को उदाहरण दिँदै इन्भेष्टमेन्ट बैंकका सीइओको निर्देशन- एग्रेसिभ हुनुहोस्

पाँडेपछि बढी तलब खाने सीइओ हुन् स्ट्यान्डर्ड चार्टर्ड बैंकका जोफेस सिल्भानुस् । उनले गत वर्ष बैंकबाट २ करोड ११ लाख ५५ हजार रुपैयाँ लिए भने लगानीकर्ताको सम्पत्तिमाथि १८.३७ प्रतिशत मात्रै प्रतिफल दिए ।

तलबभत्ता खानेमा दोस्रो नम्बरमा परेका सिल्भासुन २८ बैंकमध्ये लगानीकर्तालाई प्रतिफल दिने बैंकहरुको सूचिमा ७ औं नम्बरमा छन् भने १० महंगा सीइओसँग तुलना गर्दा चौथो स्थानमा छन् ।

तेस्रो बढी तलबभत्ता खाने सीइओमा पर्छन् अनिल शाह । शाहले गत वर्ष नविल बैंकबाट २ करोड ७ लाख रुपैयाँ लिए । त्यसबेला उनी डेपुटी सीइओ थिए । तर, उनी नै फस्ट म्यान थिए । तलबभत्तामा तेस्रो स्थानमा रहेका अनिल शाह लगानीकर्तालाई प्रतिफल दिनमा पहिलो नम्बरमा छन् ।

गत वर्ष अनिल शाह नेतृत्वको नविल बैंकको व्यवस्थापनले लगानीकर्ताको सम्पत्तिमामा २३.९८ प्रतिशत प्रतिफल दिएको छ । तलबभत्तासँग प्रतिफलको तुलना गरेर विश्लेषण गर्दा शाहलाई अब्बल सीइओ मान्न सकिन्छ ।

बैंकर जनक शर्मा पौडेलले गत वर्ष ग्लोबल आइएमइ बैंकबाट तलबभत्ताबाट १ करोड ९६ लाख ९३ हजार रुपैयाँ लिए । अहिले उनले बैंक छाडिसकेका छन् । तर, पौडेल नेतृत्वको व्यवस्थापनले गत वर्ष बैंकका लगानीकर्ताको सम्पत्तिमा १८.३८ प्रतिशत प्रतिफल दिएका छन् । पौडेल चौथो धेरै तलबभत्ता खाने सीइओ हुन् ।

ग्लोवल आइएमइ बैंक २८ बैंकसँग तुलना गर्दा आरओइमा ९औं स्थानमा छ भने महंगा १० सीइओसँग यो बैंकका सीइओ पौडेल तेस्रो बढी प्रतिफल दिने सीइओ हुन् । तलबभत्ता र आरओइलाई हेरेर तुलना गर्दा पौडेल पनि अब्बल सीइओमा पर्छन् ।

बढी तलबभत्ता लिनेको सूचिमो ज्ञानेन्द्र ढुंगाना पाँचौं स्थानमा छन् । सीइओ ढुंगानाले गत वर्ष एनबी बैंकबाट १ करोड ८३ लाख ५८ हजार रुपैयाँ लिए । र, लगानीकर्ताको समपत्तिमा १२.१ प्रतिशत प्रतिफल दिए । २८ बैंकसँग तुलना गर्दा ढुंगाना सीइओ रहेको एनबी बैंक लगानीकर्ताको सम्पत्तिमा प्रतिफल दिनमा २३औं नम्बरमा छ । महंगा १० सीइओसँग तुलना गर्दा ढुंगाना ७औं स्थानमा छन् ।

त्यसैगरी गत आर्थिक वर्षमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले तलबभत्ता बापत बैंकबाट १ करोड ७४ लाख रुपैयाँ लिए । र, लगानीकर्ताको सम्पत्तिमा १८.६७ प्रतिशत प्रतिफल दिए । तलबभत्ताका हिसाबले छैठौं स्थानमा रहेका सीइओ दाहाल २८ बैंकसँग तुलना गर्दा लगानीकर्ताको सम्पत्तिमा प्रतिफल दिनमा छैटौं र महंगा १० सीइओसँग तुलना गर्दा दोस्रो स्थानमा छन् । यो आधारमा विश्लेषण गर्दा दाहाल पनि अब्बल सीइओ हुन् ।

त्यस्तै, अशोक शेरचन सीइओ रहेको प्रभु बैंकले गत वर्ष लगानीकर्ताको सम्पत्तिमा ९.९३ प्रतिशत, सुनिल केसी सीइओ रहेको एनएमबि बैंकले ९.२९ प्रतिशत र अशोक राणा सीइओ रहेको हिमालयन बैंकले १७.६८ प्रतिशत प्रतिफल दिएको छ ।

सिभिल बैंकले गत वर्ष लगानीकर्ताको सम्पत्तिमा जम्मा ७.३६ प्रतिशत मात्रै प्रतिफल दिएको छ । यो तत्कालीन सीइओ किशोर महर्जनले दिएको प्रतिफल हो । बैंकमा अहिले गोविन्द गुरुङ सीइओ छन् ।

आक्रमक बजार विस्तारमा रहेको एनआइसी एशिया बैंक गत वर्ष लगानीकर्ताको सम्पत्तिमा प्रतिफल दिनेमा १६औं नम्बरमा थियो । चालू आर्थिक वर्षको पुस मसान्त र चैत मसान्तमा यो बैंक पहिलो नम्बरमा परिसकेको छ ।

सीइओहरुले आफुले लिएको तलबबाट ३६ प्रतिशत आयकर तिर्ने गर्छन् । बाहिर देशमा पनि बैंकहरुमा सीइओहरुको तलब बढी हुने गर्छ । किनभने उनीहरुले खर्बौं बराबरको रकम परिचालन गर्न ठूलो जोखिम व्यहोरेका हुन्छन् ।


पुष्प दुलाल