उद्योग वाणिज्य महासंघबाट युरोप जान लागेका ३५ जनालाई दूताबासले भिसा दिएन, जम्बो टोली किन ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघबाट युरोप भ्रमणमा निस्कन लागेको जम्बो टोलीलाई स्विजरल्याण्डको दुतावासले निराश बनाएको छ ।

९० जनाको टोली आजदेखि युरोप भ्रमणमा निस्कनुपर्ने कार्यतालिका थियो । तर, स्विस दुतावासले ५५ जनाको मात्र भिसा दिएपछि ३५ जना युरोप जान नपाउने भएका छन् ।

५५ जनाको टोली भने टर्किस एयरलाइन्सबाट युरोप भ्रमणमा निस्केको छ । १० दिने युरोप भ्रमणमा निस्केको टोलीले युरोपका विभिन्न देशको भ्रमण गर्ने बताइएको छ ।

स्विस दुतावासले भिसा नदिएपछि महासंघको भ्रमणमा निस्कन लागेको टोलीले पुनः फ्रान्सको दुतावासबाट भिसा लगाएर युरोप भ्रमणमा जाने तयारी गरेको छ ।

अहिले गएको टोली फर्केपछि युरोप जाने गरी भिसा आवेदन दिएको भम्रणमा निस्कन लागेका एक व्यवसायीले बताए । यो पटक टोली ठूलो भएको हुँदा स्विस दुतावासले भिसा नदिएको महासंघ निकट स्रोतले जानकारी दिएको छ ।

बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाको समेत भिसा लागेको छैन । महासंघका पदाधिकारीलाई समेत युरोप भ्रमणको विषयमा जानकारी भने छैन ।

‘कुन प्रयोजनका लागि यति ठूलो संख्यामा युरोप भ्रमण हुन लागेको छ केही जानकारी छैन,’ महासंघका एक पदाधिकारीले क्लिकमाण्डूसँग भने ।

विधान संसोधनलाई प्रभावित पार्नको लागि ठूलो संख्यामा जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारीलाई युरोप भ्रमण गराउन लागिएको महासंघका एक कार्यकारिणी सदस्यले बताए ।

महासंघले भदौको पहिलो सातासम्ममा विधान अधिवेशन बोलाउने बताएको छ । विधान समितिको संयोजकमा बैंकको ऋण नतिरेर डिफल्टर भएका व्यवसायी चण्डिराज ढकाल संयोजक छन् ।

महासंघले युरोप भ्रमणपछि १०० जना भन्दा बढीलाई चीनको कुनमिनमा हुने मेलामा समेत सहभागी गराउने तयारी गरेको छ ।


क्लिकमान्डु